२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:५८
  • भैरहवामा ५० करोडको लगानीमा होटल ल्याण्डमार्क सञ्चालनमा

    भैरहवा – रुपन्देहीको भैरहवामा होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिंगापुर कलोनीमा रहेको होटल सम्राट ग्रुपको व्यवस्थापनमा सञ्चालनमा आएको हो। भैरहवाका युवा व्यवसायी आशा गुरुङले ५ वर्ष लगाएर होटल तयार गरेका थिए। होटलको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटनका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिने बताए।

    सम्राट ग्रुपले काठमाडौं, चितवन र पोखरामा गुणस्तरीय हस्पिटलिटी सेवा दिदै आएको छ। गुपले व्यवस्थापन गरेको भैरहवाको होटल चौथो हो। लुम्बिनीमा आउने विदेशी पर्यटकका साथै भारतबाट आउने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको प्रमुख कार्यकारी अधिकृत सी एन पाण्डेले बताए। होटलमा हालसम्म ५० करोड लगानी भइसकेको छ। १० कठ्ठा क्षेत्रफलमा रहेको होटल निकट भविष्यमै १ विघा क्षेत्रफलमा १० हजार स्वायरफुटको पार्टी र सेमिनार हलको सुविधा समेत होटलबाट उपलब्ध हुने पाण्डेले बताए। ६ सय र २ सय क्षमताका दुई हल बन्ने उनको भनाइ छ।

    होटलमा हाल डिलक्स, सुपर डिलक्स, फ्यामली र जुनियर स्वीट गरी ५० कोठा छन्। कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिनेछ । केही कोठामा सुर्योदयको पहिलो किरण बेडमा पुग्ने गरी होटलमो निर्माण गरिएको छ। होटलमा कोटियार्ड लायञ्ज, स्वीमिङ पुल, रुफटप बार पनि रहेको पाण्डेले जानकारी दिए।