२०८१ आश्विन २१ गते, सोमबार ०७:०८
  • सम्पदा जोगाउन सक्यौं भने तानसेनमा पर्यटनको ठूलो सम्भावना छ

    नयाँ संरचना निर्माण गर्दा परम्परागत प्रविधि र सामाग्रीहरु प्रयोग गर्नुपर्छ

    सौभाग्य प्रधानाङ्ग

    हामीले तानसेनका साइटहरु घुम्यौं। यो काठमाडौँ पछिको महत्वपूर्ण नगर रहेछ। जहाँ हाम्रो पुरानो सैली, पुरानो सम्पदाको संरक्षण भइरहेको छ। केही सम्पदाहरु चाँही बनाउने क्रममा जानेर नजानेर विगारिएको अवस्था पनि देख्यौं। तानसेनमा बचाउन सक्ने पुराना सम्पदा अहिले पनि बाँकी रहेको छ।

    ति संरचनालाई संरक्षण गर्न लागि नगरपालिका, पुरातत्व विभाग र अरु विभिन्न पक्षहरु बसेर छलफल भयो। पाल्पा दरबार क्षेत्र लगायत अन्य विभिन्न सम्पदाहरुको संरक्षण गरि अघि बढ्ने सबैको सहमती भएको छ। त्यस्तै नयाँ निर्माण गर्दा सम्पदा केन्द्रीत गरेर निर्माण गर्ने छलफलमा सबैले प्रण पनि गरेका छौं। छलफलबाट एउटा राम्रो निष्कर्ष निष्केको छ।

    हामीले कुनै पनि नयाँ संरचनाहरुको निर्माण कार्य गर्दा मौलिक परम्पराहरुलाई ध्यान दिनुपर्छ। निर्माणका क्रममा पुराना मौलिक प्रविधि र सामाग्रीहरु प्रयोग गर्नुपर्छ। जुन स्थानिय वातावरण र भौगोलिकतासँग जोडिएको हुनुपर्छ। यसो गर्दा वातावरणमैत्री हुने, ऐतिहासिक पहिचान जोगिने र हाम्रो सम्पदा भोलिका पुस्तासम्म सुरक्षित रहन्छ।

    काठमाडौँमा हामीले पुराना सम्पदामा पर्यटनको विकास खोजिरहेका छौं। तानसेन पनि त्यस्तै महत्वपूर्ण शहर रहेछ। ऐतिहासिकसँगै भौगोलिक वातावरणले नेपालको आकर्षक शहर पनि हो। यो शहरसँग प्राग ऐतिहासिक कालको रामापिथेकस जोडिएको छ। अशोक स्तम्भ पाल्पाका बडाहाकीम गएर पत्ता लगाएकाले तानसेनलाई लुम्बिनीसँग जोड्न सकिन्छ।
    अंग्रेजसँगको युद्धमा नेपाल विजयी भएको थियो। पाल्पाका कर्नेल उजिरसिंह नेतृत्वले सेनाले अंग्रेजमाथि जित हासिल गरेको थियो। यी कुरालाई उजागर गरेर हामीले पाल्पाको पर्यटन प्रवद्र्धनलाई अघि बढाउन सक्छौं। तानसेनको भगवती मन्दिरसँगै केही परको रानीमहल, रिब्दीकोट, रिडी लगायतका धार्मिक तथा पुरातात्वीक सम्पदाहरु छन्। यी पर्यटन तान्न सक्ने एउटा महत्वपूर्ण आधार हुन्।

    भोलीका दिनमा स्थानिय बासी, स्थानिय सरकार वा नेपाल सरकारले सम्पदा संरक्षणमा जोड दिन सक्यौ भने भोली तानसेनको आयश्रोत नै पर्यटन हुन्छ। पर्यटनको आधारमै हामीले राजस्व बृद्धि गर्न सक्छौं। पर्यटनको विकासको लागि यहाँका स्थानियहरुलाई टुरिष्ट गाइड तालिम सञ्चालन गर्नुपर्छ। पर्यटकहरु आउँदा सम्पदाहरुको जानकारी दिन सक्ने व्यक्तीहरुको व्यवस्थापन गर्न सक्यो होटल व्यवस्थापन जस्ता कुराहरुमा ध्यान दिन सक्यौं भने तानसेनमा पर्यटनको ठूलो सम्भावना छ।

    (कुराकानीमा आधारित)