२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • लुम्बिनीमा १२५० जना प्रबज्यामा सहभागी

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा एकै दिन साढे १२ सयले प्रबज्यामा सहभागीता जनाएका छन्। बुौद्धमार्गमा हिडने पहिलो खुटकिलोका रुपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षु का लागि शनिबार मायदेवी मन्दिरमा प्रबज्या कार्यक्रम गरिएको हो। एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रबज्यामा सहभागिता जनाएका हुन्।

    अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा प्रबज्या कार्यक्रम भएको हो। अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइलयाण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए। अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ। भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्नेछ।

    फागुन १६ गतेदेखि शुरु भएको प्रवज्यामा लुम्बिनीमै आएर १२५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन।
    अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवद्र्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १२५० जनालाई श्रामणेर ९अल्पकालिन भिक्षु ० बनाइएको बताए। उनले चिवर प्राप्त गरेकाहरु सबैलाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको जानकारी दिए। लुम्बिनीमा गरिएको अल्पकालिन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथको भनाइ छ।

    सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले जानकारी दिए। प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतको सहभागीता थियो। प्रवज्या अन्तर्गत आईतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन कार्यक्रम हुने जनाइएको छ।