२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • लुम्बिनीका व्यवसायीले भने: भित्रका विहारले बाहिरका होटलसँग प्रतिस्प्रर्धा गरे, अब पर्खदैँनौं

    लुम्बिनी-बुद्ध जन्मस्थल लुम्बिनीका होटल व्यवसायीहरुले गुम्बा र विहारहरुले पर्यटक राख्दा निजी क्षेत्रलाई समस्यामा पारेको गुनासो गरेका छन्। उनीहरुले विहार र गुम्बा व्यापारको थलो बनेको उल्लेख गरे।

    लुम्बिनी होटल संघ नेपालले लुम्बिनी विकास कोषलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै भित्रका गुम्बा र विहारले बाहिरका होटलसँग प्रतिप्रर्धा गरेको बताए। ‘विहार क्षेत्रका संरचनाहरु गुरुयोजना क्षेत्र बाहिरका होटलहरुसँग प्रतिस्प्रर्धा गर्दै पर्यटक राख्ने ठाउँका रुपमा फेरिएका छन्।’ ज्ञापनपत्रमा भनिएको छ ‘सयौं कोठाहरु पर्यटक राख्ने गरि बनाइएका छन्। विहार र गुम्बा बनेका ठाउँ बौद्ध अध्यात्मीक र बौद्ध भावनाको ठाउँ होइन व्यापारको थलो बनेका छन्।’

    यसबाट नीजि क्षेत्रको ठूलो लगानी र व्यापारलाई संकट पुर्याएको लुम्बिनी होटल संघले बताएको छ। लुम्बिनीको व्यवसायमा निजी क्षेत्रको अहिलेसम्म १५ अर्ब लगानी भएको र होटल व्यवसायमा मात्र ७ अर्ब बढि लगानी रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको भनाइ छ।

    गुम्बा र विहार क्षेत्रलाई गेष्ट हाउन नबनाउन बर्षैदेखी आवज उठाएको भन्दै ज्ञवालीले स्थानिय व्यवसायीको धैर्यको सिमा समाप्त भएको र अब पर्खिन नसक्ने ज्ञापनपत्र मार्फत चेतावनी दिए। ‘स्थानिय व्यवसायीको धैर्यको सिमा समाप्त भएको छ र अब यस भन्दा अघि पर्खिन सक्ने अवस्था छैन। ज्ञापनपत्रमा भनिएको छ ‘यो समस्या ७ दिन भित्र स्थायी रुपमा समाधान गर्न ठोस कार्य अघि बढाउन विनम्रता पूर्वक आग्रह गर्दै यस पत्रलाई एक थान पत्र ठानी व्यवसायीहरुको लागि थप कदमको लागि बाध्य नपारियोस्।’

    लुम्बिनी विकास कोषलाई बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्री र संस्कृती तथा पर्यटन मन्त्रीलाई बोधार्थ पठाइएको छ।
    लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बिहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले व्यवसायीको माग जायज भएको र यसको मसिनो गरी अध्ययन हुन जरुरी रहेको बताए।