काठमाडौं-‘स्वर्गीय बाबु छिरी शेर्पा स्मारक ओपन स्पोर्ट क्लाइम्बिङ’ प्रतियोगिताको उपाधि पुरुषतर्फ तेन्जिङ राई र महिलातर्फ सिर्जना तामाङले जितेका छन्। उपाधिसँगै दुबै जनाले ५० हजारका दरले पुरस्कार प्राप्त गरेका छन्। पहिलो पटक आयोजित यो प्रतियोगिता काठमाडौँको बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा भएको थियो।
प्रतियोगितामा पुरुष तर्फ रोनक उप्रेती र सजन लामा क्रमश दोस्रो र तेस्रो भए। त्यसै गरि महिला तर्फ स्वस्तिका चौधरी र प्रेरणा राई दोस्रो र तेस्रो स्थान भएका थिए। उनीहरुले क्रमश ३० हजार र १५ हजारका दरले पुरस्कार प्राप्त गरेका थिए। विजेताहरुलाई सोलुदुधकुण्ड नगरपालिका नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले पुरस्कार प्रदान गरेका थिए। पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेका थिए।
यस प्रकारको प्रतियोगिताले साहसिक पर्वतीय खेलकुदलाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताए। उनले प्रतियोगिता हरेक वर्ष निरन्तर रुपमा आयोजना गर्ने समेत जानकारी दिए।
प्रतियोगीता सम्पन्न गर्न नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग (रुट सेटिङ, जजिङ, सुरक्षा, र बेले सर्भिस) प्रदान गरेको थियो। प्रतियोगिताको मुख्य निर्णायक छिरिङ जाङबु शेर्पा, निर्णायक ज्याम्चाङ भोटे, निर्णायक पिम्बा तेन्जिङ शेर्पा रहेका थिए।
स्व. बाबु छिरी शेर्पालाई अहिलेसम्मकै महान पर्वतारोही मानिन्छ। १० औं पटक सगरमाथा शिखर चुमेका (चार पटक चीन तर्फबाट सहित) शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रशिद्ध पर्वतारोहीका रूपमा चिनिन्छन्।वसन्त ऋतृमा विना अक्सिजन सगरमाथा शिखरमा २१ घण्टा भन्दा बढी समय बिताएका थिए। यो रेकर्ड अझै सम्म कसैले तोड्न सकेको छैन। त्यसैगरि १६ घण्टा ५६ मिनेटमा दक्षिण तर्फबाट सगरमाथा छिटो आरोहण गरी उनले त्यसबेला सगरमाथामा दुई विश्व कीर्तिमान राख्न सफल भएका थिए। सन् २००१ अप्रिल २९ तारिखका दिन सगरमाथा ११ औं पटक आरोहण गर्ने प्रयास गर्दा किर्तीमानी आरोही बाबुछिरि शेर्पाको निधन भएको थियो।