२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • लुम्बिनीमा अनलाईन टिकट प्रणालीको सुरुवात

    पर्यटकलाई आकर्षित गर्न अनलाईन टिकटले सघाउ पुर्याउँछ : मन्त्री तामाङ

    लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा अनलाईन टिकट प्रणालीको सुरुवात भएको छ। अब स्वदेशी तथा विदेशी पर्यटकले मायादेवी मन्दिर प्रवेशको लागि लाइन बस्नुपर्ने बाध्यता हटेको छ।

    अनलाइन टिकट प्रणालीको शुभारम्भ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले कोषको पारदर्शीतामा सघाउ पुग्ने दाबी गरे। उनले विदशी पर्यटकलाई सहज वातावरण बनेको समेत बताए। ‘एउटा टिकट लिनको लागि पनि लाइन बस्न पर्यो भने, झन्झट बेहोर्न पर्यो भने, विभिद खालका समस्याहरु आइपर्यो भने मान्छेहरु आउन चाहाँदैनन्।’ तामाङले भने ‘त्यसैले पर्यटकलाई आकर्षित गर्न अनलाईन टिकट प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ।’

    लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले अनलाइन टिकट प्रणालीले लुम्बिनीको महत्व र पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न कोषले प्रयास गरिरहेको बताए। लुम्बिनीको पर्यटकीय विकासको लागि स्थानियदेखि संघसम्म सबैको भूमिका हुने उल्लेख गरे।

    कोषका कोषाध्यक्ष सिद्दीचरण भट्टराईले आजको डिजिटल युग अनुसार घरबाटै टिकट काटेर पर्यटकले सहज सेवा पाउन भन्ने उदेश्यले यो प्रणाली सुरु गरेको बताए। मुख्यगरी विदेशीहरुले यसको उपयोग गर्ने कोषको विश्वास छ । उद्घाटन समारोहमा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, विश्वराज पौडेल, राजेश शाक्य, श्याम रोक्का, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतको सहभागिता थियो ।

    लुम्बिनी विकास कोषको वेवसाईट lumbinidevtrust.gov.np लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।

    इटिकेट्समा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए। अहिले मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए । पेमेन्ट सहकार्य गरेको माछापुच्छ्र्रे बैंकका चिफ डिजिटिल अफिसर माधव सुवेदीले घरबाटै सुविधा लिन सकिने र क्यूआरबाट विदेशी पर्यटकहरुले टिकट काट्न मिल्ने गरी सुविधा दिइएको बताए । उनले चिनियाँ पर्यटकहरुलाई विउ च्याट मार्फत सुविधा दिने गरी लुम्बिनी विकास कोषसँग बैंकले सहकार्य गरेको बताए ।

    लुम्बिनीको मायादेवी मन्दिरमा प्रवेशको लागि स्वदेशी नागरिकले २० रुपैया तिर्नुपर्दछ। विद्यार्थीको लागि १० रुपैया तोकिएको छ। तर रुपन्देही, नवलपरासी र कपिलबस्तुका स्थानियले शुल्क तिर्नुपर्दैन। त्यस्तै भारतीयहरुको लागि ४० रुपैया र सार्क मुलुकका पर्यटकले ३ सय रुपैया तिर्नुपर्छ। तेस्रो मुुलुकका पर्यटकको लागि प्रतिव्यक्ती ६ सय रुपैया शुल्क तोकिएको छ।