२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • बन्दीपुरमा नयाँ गुफा फेला

    दमौली -तनहुँको बन्दीपुरमा नयाँ गुफा फेला परेको छ। बन्दीपुर गाउँपालिका २ पौवा नजिक चट्टान आरोहणको सम्भावित क्षेत्र खोजी गर्ने सिलसिलामा सरफानी २० मिटर लम्बाइको गुफा फेला परेको हो। साहसिक पर्यटन व्यवसायी चन्द्र आले, प्याराग्लाइडिङ पाइलट समन्वय प्रधान, पर्यटन व्यवसायी सुकराम तामाङसहितको टोलीले खोजी गर्दा करिब २० मिटर लम्बाइको गुफा फेला परेको हो।

    नयाँ गुफा भेटिएपछि बन्दीपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। बन्दीपुर बजारबाट करिब एक किलोमिटर दूरीमा गुफामा पुग्न सकिन्छ। गुफा बाहिरको पहरा करिब तीन सय मिटर फराकिलो र ५० मिटर उचाइको रहेकाले चट्टान आरोहणका लागि प्रचुर सम्भावना देखिएको छ।

    मुख्यमन्त्री नवप्रवर्तन कार्यअन्तर्गत चट्टान आरोहण कार्यक्रम रहेकाले यसका लागि आवश्यक सामान खरिद गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको र यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने गाउँपालिकाका अध्यक्ष थापाले बताए।