२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • पर्यटन क्षेत्रको विस्तारका लागि सांस्कृतिक र प्राकृतिक मुहान जोगाउन आवश्यक : कर्ण शाक्य

    तानसेन -लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनको क्षेत्र विस्तार गर्न सांस्कृतिक र प्राकृतिक मुहान जोगाउन आवश्यक रहको बताएका छन्। उनले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा पूर्णविराम नलाग्ने भन्दै उल्लेख गरे।
    ग्रीन फर गुड नेपालले शनिवार तानसेनमा आयोजना गरेको कार्यक्रममा शाक्यले पर्यटन क्षेत्रको विस्तारका लागि व्यक्तिको व्यवसायिक शैली र सोचमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए।

    आन्तरिक पर्यटन भनेकै अन्तर्राष्ट्रिय पर्यटनको जग भएकाले पर्यटन प्रर्वद्धनतर्फ स्थानीय सरकार र सरोकारवालाहरु नै लाग्नुपर्ने उनको भनाइ छ। कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने शाक्यले बताए।
    उनले कृषि, पर्यटन र स्वास्थ्यका क्षेत्रमा प्रचुर सम्भावना भएकाले त्यसको बढी भन्दा बढी उपयोग गरी आयआर्जन गर्न सके विदेशी रेमिट्यान्समा भर पर्नु नपर्ने धारणा व्यक्त गरे।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले आफ्नो सामथ्र्य चिन्न सके परिवर्तन सम्भव भएको उल्लेख गरे। प्राचीन सम्पदालाई वर्तमान समृद्धिसँग जोड्न आवश्यक रहेको उनको भनाइ छ। लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले संयमता र धैर्यले व्यक्तिलाई महान बनाउने भन्दै सकरात्मक दृष्टिकोणबाट सम्पदा र संस्कृति संरक्षणमा सरोकारवाला निकायले प्रण गर्न आवश्यक रहेको उल्लेख गरे।

    संस्थाका अध्यक्ष धनिश्वर बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, रेडा पाल्पाका निर्देशक लिला कार्की लगायतले कर्ण शाक्यको सकरात्मक सोचको अनुभवलाई विकास र समृद्धिसँग जोड्न आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्ति बस्यालले कर्ण शाक्यको बारेमा संक्षिप्त चर्चा गरेकी थिइन् ।