२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • ज्ञान प्राप्त गरेपछि बुद्धले पहिलो पटक मातापितासंग भेटेको ठाउँमा निग्रोधाराम उत्सव

    लुम्बिनी -कपिलबस्तुको ऐतिहासिक तथा पुरातात्विक बुद्धस्थलमा निग्रोधाराम उत्सव मनाईएको छ। कपिलवस्तु नगरपालिका–२, कुदान मा पर्ने निग्रोधाराम बुद्धले ज्ञानप्राप्त गरे पछि पहिलो मातापितासँग भेटेको ठाउँ हो। ज्ञान प्राप्त गरि कपिलवस्तु आइ फागुन पुर्णिमाका दिन मातापितासंग उनले भेट गरेका थिए। उक्त ऐतिहासिक क्षणको महिमा फैलाउन निग्रोधाराम उत्सव गरिएको हो।

    बौद्ध धर्मावलम्बीको आस्था र महत्वपूर्ण स्थल निग्रोधारामको पवित्रता उजागर गरि पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले गच्छामी मिडिया ग्रुप र रेडियो टुरिजमले उत्सवको आयोजना गरेका हुन्। उत्सवमा श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले यो पवित्र स्थलको धार्मिक र ऐतिहासिक महत्व श्रीलंकामा निक्कै मानिने हुँदा यहा आएर माटो छुन पाउदा आफू भाग्नमानी भएको बताए। यो ठाउको विकासमा सबै लागेर बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउनु पर्ने उनको भनाइ छ। निग्रोधारामको विकासका लागि आफू र श्रीलंकाली सरकार सहयोग गर्न तयार रहेको उनले बताए।

    कार्यक्रममा भारतकालागि पूर्व राजदूत दीपकुमार उपाध्यायले सबैलाई दया, माया करुणा र आस्था जगाउने ठाउका रुपमा निग्रोधाराम रहेकाले बौद्ध धर्मावलम्बीका लागि एउटा छुट्टै महत्व बोकेको बताए। थेरबाद र महायानी परम्परा अनुसार भिक्षु, लामागुरुले च्यान्टिङ गरि उत्सव सुरु गरिएको थियो। उत्सवमा स्थानीय लोक संस्कृति र बाजा बजाईएको थियो।

    राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक राजधानी फर्किदाको अवस्था चित्रण गरि लघु नाटक प्रर्दशन गरिएको थियो। उत्सवमा मैंत्रीभाव र सद्भाव प्रदान गर्न फुल आदान–प्रदान साटासाट गरिएको थियो।

    साझ ७ सय ७७ वटा द्विप प्रज्ज्वलन गरिएको थियो। होलीको शुभकामना साटासाट गर्दै अविर रंग पनि लगाईएको थियो । श्रीलंकाली राजदूत दम्पत्तीले पनि रंगअविर लगाएर खुसीयाली साटासाट गरेका थिए। साँझ शान्तिका लागि ३ वटा फलाईङ लालटेन उडाईएको थियो। अवधी संस्कृति बोकेको गोझिया, गुलगुला र नमकिन खाजा खुवाईएको थियो।

    लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाडेकाजीले कपिलवस्तुमा नयाँ पर्यटकीय आकर्षणका धेरै संभावना भएकाले त्यसलाई उजागर गर्न निग्रोधाराम उत्सव मनाईएको बताए। ‘बुद्धले बुद्धत्व प्राप्त गरेपछिको यो क्षण विश्वकैलागि महत्वपुर्ण हो’ उनले भने, ‘त्यही खुसीयालीको क्षण अनुभूति गर्न उत्सव आयोजना गरिएको हो । विस्तारै यो नौलो र स्थापित पर्यटकीय गन्तब्य बन्छ’। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डे, लुम्बिनी विकास कोषका बोर्ड सदस्य रामनरेशप्रसाद कोहार, कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोका प्रमुख सूचना अधिकृत डा. हरिध्वज राई, सूचना राजन बस्नेत, गच्छामी मिडिया ग्रुप अध्यक्ष मनोज श्रीवास्तव र ग्रुपका निर्देशक खगप्रसाद चापागाईले आ आफ्ना भनाइ राखेका थिए।

    फोटो प्रदर्शनी

    उत्सवकै अवसरमा सम्पदामा धनी कपिलवस्तु विषयक तस्बिर पनि प्रर्दशन गरिएको थियो। बुद्धस्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधारामका मनमोहक र रोमाञ्चक तस्बिर प्रर्दशन गरिएको थियो। प्रर्दशनीमा तराईका मानवीय जनजीवन, पुरातात्विक स्थलको पृष्ठभूमि र खुला आकाशसंगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरी दोस्रो, तेस्रो र चौथौं तथा गुर्जा हिमालका चित्ताकर्षक तस्विर प्रर्दशनी बुद्धस्थल निग्रोधारामा गरिएको थियो।

    फोटोपत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मनछुने र चित्ताकर्षक १९ तस्बिर प्रर्दशनीमा राखिएको थियो। २० वाई ३० ईन्च साईजको फोटो फलामको फ्ल्याकमा राखिएको थियो। पर्यटन प्रबद्र्धन गर्दै तस्बिर खिच्न अभिप्रेरित गर्न खुला फोटो प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा प्राप्त भएका ६ तस्बिर मध्ये उत्कृष्ट एक तस्बिरलाई पुरस्कार प्रदान गरिएको थियो ।

    तौलिहवाका विकास पोखरेलले खिचेको तस्बिरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो। पोखरेललाई श्रीलंकाली राजदूत सुदर्शना पथिरानाले ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए।