२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • लुम्बिनीका विहारमा पर्यटक नराख्न माग गर्दै होटल व्यवसायीहरुद्वारा आन्दोलनको घोषणा

    लुम्बिनी – लुम्बिनीका विहार र गुम्बामा पर्यटक राख्न बन्द गर्न माग गर्दै होटल व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन्। लुम्बिनी होटल संघ नेपालले बुधबार पत्रकार सम्मेलन गरी गुरुयोजना क्षेत्रका बिहार र गुम्बामा पर्यटक राख्ने व्यवस्था स्थायी रुपमा रोक लगाउन माग गरेको हो। गुम्बा र विहारका सयौं कोठाहरु पर्यटक राख्ने गरी बनाइएकोले गरी खान देउ भन्ने नाराका साथ आँफूहरुले आन्दोलन थालेको होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।  

    आन्दोलनका कार्यक्रम अन्तर्गत चैत १५ गतेदेखि माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए ।

    गुम्बा र विहार बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना हुनुपर्नेमा त्यसो नभई व्यापारको थलो बनेको उनको भनाइ छ । ‘हाम्रा मागहरुमा ऐक्यवद्ध हुने अन्य संघ–संस्थाहरुलाई आन्दोलनमा सहभागी गराउँदै लैजानेछौं । त्यसपछि दोस्रो चरणको आन्दोलनको घोषणा गर्नेछौं । ७ दिनसम्म कुनै सुनुवाइ नभए आन्दोलनकारीको भावना र परिस्थितिको भावना र परिस्थिति अनुसार विभिन्न कार्यक्रम गर्नेछौं, ’उनले भने ।

    लुम्बिनीका सम्पूर्ण पर्यटन व्यवसायी गर वा मरको स्थितिमा पुर्याउनेहरुले आफूहरुका मागहरुलाई सम्बोधन नगरे वा नगराइए आन्दोलन नरोकिने ज्ञवालीले चेतावनी दिए ।
    लुम्बिनी होटल संघले गत फागुन २९ गते आफ्ना मागबारे एक हप्ते अल्टिमेटम सहित लुम्बिनी विकास कोष समक्ष ज्ञापनपत्र बुझाएको थियो। कोषले बिहारहरुलाई एक एक थान पत्र बुझाउनुबाहेक कुनै ठोस कदम नचालेको संघको भनाइ छ ।

    लुम्बिनी लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले नियमविपरीत बिहारमा होटल व्यवसाय सञ्चालन गरेको कार्यविरुद्ध १२ वर्षदेखि आफूहरु लड्दै आएको र हालसम्म मागको सुनुवाइ नभएको बताए । बिहार गेष्ट हाउसको रुपमा सञ्चालन गरिदा होटल व्यवसायलाई विस्थापित गर्न खोजिएको उनको भनाइ छ ।

    पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, उपाध्यक्ष शेखर कार्की, कोषाध्यक्ष किरण प्रसाद कंडेल, कानूनी सल्लाहकार तथा अधिवक्ता प्रख्यात बन्जाडे, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल) लगायतले भनाइ राखेका थिए ।