२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव शुरू  

    बुद्धजन्मस्थललाई ध्यान केन्द्रको रुपमा पनि विकास गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


    लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुरू  भएको छ।  अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ सुरु भएको हो।
    महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानको माध्यमबाट समाजिक रुपान्तरण गर्नुपर्ने बताए। ध्यानले आफुलाई चिन्न सिकाउने भएकाले आफुलाई चिन्ने व्यक्ति सधै समाजमा पछि पारिएका बर्ग समुदाय संगै सिंङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनको भनाइ छ। बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपुरक भएको उल्लेख गर्दै श्रेष्ठले लुम्बिनीलाई बुद्धमार्ग संगै ध्यानको पनि केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए। उनले ध्यानका माध्यमबाट शारिरीक तथा मानसिक स्वाथ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रुपमा लिन सकिने उल्लेख गरे।
    नेपालका लागि चिनियाँ राजदुत चेन सोङले नेपाल हिमाल र नदिहरुले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चिनबिचको मित्रताको साक्षी भएको बताए। बुद्ध जन्मस्थल नेपाल भएको र चिनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा साँस्कृतिक रुपमा पनि नेपाल र चिनबिच अन्योन्याश्रित सम्बन्ध रहेको उनको भनाइ छ।
    नेपाली राजकुमारी भृकुटीको र मुर्तिकार अरनिकोलाई नेपाल र चिन दुबै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदुत सोङले यसबाट परापुर्वकादेखि नै नेपाल र चिनबिच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए।
    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए। लुम्बिनी हुने यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउन र अध्यात्मबादको विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुताबास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा महोत्सव आयोजना गरिएको हो। नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसियसनसंगको सहआयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद र ग्रिनरोडले सहकार्य गरेका छन्। लुम्बिनीलाई विश्व शान्ति र धार्मिक साँस्कृतिक पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन र नेपाल चिनविचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उदेश्यले महोत्सव गरिएको हो।
    महोत्सव अन्तर्गत शनिबार विहान लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरिको हाफ म्याराथन दौड हुनेछ। पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ। शनिबार साँझ लुम्बिनी स्क्वायरमा  लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रशिद्घ गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरुको प्रस्तुती रहने छ।