२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • लुम्बिनीमा चिनिया पर्यटक बढ्दै, दुई दिने महोत्सवले जगायो थप आशा

    मार्चमा मात्र १६७९ चिनिया आए

    लुम्बिनी-सन २०१९ को अन्तिम तिर चिनबाटै सुरु भएको कोरोना संक्रमणको कारण लुम्बिनीको पर्यटन क्षेत्रले पनि ठूलो समस्या भोग्नुपर्यो। कोभिडको प्रभाव हटेको लामो समय पछि पनि लुम्बिनीमा चिनिया पर्यटक आगमनले गति लिन सकेको थिएन। तर यो वर्ष चिनिया पर्यटक आगमनले केही आशा जगाएको छ।

    गत मार्च महिनामा मात्र १ हजार ६७९ चिनिया लुम्बिनी भ्रमणमा आएका छन्। सन २०२३ को मार्चमा चिनबाट २३६ पर्यटक मात्र आएका थिए। कोभिड पछि एक महिनामा यती धेरै पर्यटक आएको पहिलो पटक हो। यो वर्षको फेबुररी महिनामा ९ सय ५५ चिनिया पर्यटक लुम्बिनी आएका थिए। मार्चमा अघिल्लो महिनाको तुलनामा ७ सय बढि पर्यटक आएका हुन्। तर चिनिया पर्यटक आगमन अझै कोभिड अघिको अवस्थामा अझै पुगेको छैन। कोभिड अगाडि सन् २०१९ को मार्चमा २ हजार ३२६ चिनिया पर्यटक लुम्बिनी आएका थिए। तर मार्चको तथ्यांक हेर्दा केही आशा गर्न सकिने देखिन्छ।

    हालै मात्र चिनिया सहयोगमा अन्तराष्ट्रिय शान्ति महोत्सव भएको छ। दुई दिने महोत्सव अन्तर्गत म्याराथन, ध्यान कार्यक्रम र कन्सर्ट भएको थियो। यस प्रकारको कार्यक्रमले लुम्बिनीका पर्यटन व्यवसायीहरु पनि आशावादी देखिएका छन् ।

    होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले चिनीया दुतावास समेतको सहयोगमा भएको महोत्सवले पर्यटक आगमन थप बढ्ने आशा व्यक्त गरे। ‘कोभिड पछि चिनीया पर्यटकहरु दिनप्रतिदिन बढ्दै गएको अवस्था छ। ओलम्पीक कमिटि, पर्यटन बोर्ड र चिनिया दुतावासले कार्यक्रम गर्यो।’ उनले भने ‘यसले पनि चिनमा एक खालको सन्देश गयो। यसबाट अझ चिनिया पर्यटक बढ्ने आशा गरेका छौं।’ चिनिया पर्यटकहरुलाई आकर्षित गर्न लुम्बिनीमा अध्यात्मीक गतिविधि बढाउनुपर्ने ज्ञवालीको भनाइ छ। उनले होटल व्यवसायीहरु राम्रो आतिथ्य सत्कार गर्न तयार रहेको बताए।

    केही महिना यता लुम्बिनीमा चिनिया उच्च पदस्थ तथा चर्चित व्यवक्तीहरुको पनि भ्रमण भएको छ । गत डिसेम्बर महिनामा चिनिया उपमन्त्री वाङ रुइजुङले लुम्बिनीको भ्रमण गरेका थिए। त्यस्तै जनवरीको अन्तिम तिर चिनका हलिउड स्टार जेट ली पनि लुम्बिनी आएर बसेका थिए। यस प्रकारका भ्रमणबाट पनि चिनिया पर्यटक आगमन बढ्न सक्ने विश्वास गरिएको छ । कोभिड पछि समग्र नेपालमा पनि चिनिया पर्यटक आगमन बढेको छ । सन २०२३ को मार्च महिनामा १२ सयको हाराहारीमा चिनियाहरु नेपाल आएका थिए । तर यो वर्षको गत मार्च महिनामा १० हजार जति चिनिया पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेले लुम्बिनीमा चिनिया पर्यटकहरुलाई बढाउन अहिले अन्तर्राष्ट्रिय शान्ती महोत्सवको आयोजना गरेको बताए। यस्तो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिने लामिछानेले जानकारी दिए। ‘चिन संसारको सबै भन्दा धेरै बुद्धिष्ट भएको ठाउँ हो। त्यसले गर्दा लुम्बिनीमा आउन खोज्छन्।’ उनले भने ‘चिनिया पर्यटकको आगमन बढाउँ भनेर दुई दिने महोत्सव आयोजना गरेको हो। चिनिया दुतावासको सहयोगमा ध्यान दिवस, म्याराथन जस्ता कार्यक्रमलाई निरन्तरता दिने सहमती भएको छ।’ निर्देशक लामिछानेले यो वर्ष चिनिया पर्यटक आगमन कोभिड अघिको तथ्यांक पार हुन सक्ने बताए।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा चिनिया पर्यटकहरु बढ्ने क्रममा रहेको उल्लेख गरे। ‘अहिलेको महोत्सवका क्रममा चिनिया राजदुतसँग पनि हाम्रो कुराकानी भयो। धेरै चिनियाहरु बुद्ध धर्म मान्ने हुँदा उनीहरु लुम्बिनी आउन चाहेका छन् भन्ने कुरा भयो।’ उनले भने ‘अहिलेको शान्ति महोत्सवको प्रभावले अझै बढ्ला भन्ने आशा गर्न सकिन्छ।’