२०८१ मंसिर ७ गते, शुक्रबार ०४:२८
  • ‘जितगढी, बटौली र फूलबारीलाई व्यवस्थित गरि बुटवलमा पर्यटकीय चहलपहल बढाउँछौं'(अन्तर्वार्ता)

    छिमेकी दुई देशबाट हुने धार्मिक र पर्यटकीय यात्राको नेतृत्व बुटवलले गर्न सक्छ

    जितगढी किल्ला २०९ वर्ष अघि नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। वि.सं. १८७२ साल बैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाले अंग्रेज फौज माथि विजयी हासिल गरेको थियो। त्यसैको सम्झनामा बैशाख ७ गते बुटवल उपमहानगरपालिकाको आयोजनामा जितगढीमा विजय उत्सव मनाउने गरिन्छ। विजयउत्सवको अवसरमा यो पटक पनि विभिन्न कार्यक्रम हुँदैछ। यसै सन्दर्भमा जितगढीमा मनाउने तयारी गरिएको विजय उत्सव र बुटवलको समग्र पर्यटकीय विकासको सम्बन्धमा हामीले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग कुराकानी गरेका छौं।

    बैशाख ७ गते बुटवलको जितगढीमा विजयोत्सव मनाइँदै छ, त्यसको तयारी के कस्तो छ?
    जितगढी किल्ला २०९ वर्ष अघि नेपाल अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले विजयी प्राप्त गरेको ठाउँ हो। चैत्र २२ गतेबाट युद्ध सुरु भएर बैशाख ७ गते हामीले युद्ध जितेको दिन भएका कारण सोही दिन बुटवल उपमहानगरपालिकाले विजयउत्सव दिवसको रुपमा मनाउँदै आएको छ। यसैको निरन्तरताको रुपमा यो पटक हामीले विभिन्न स्थानिय जातिय पहिचान सहितको झाँकीहरु, बाजागाजा, स्थानिय जनसहभागिता सहितको उपस्थितीमा नेपाली सेना, नेपाल प्रहरीको समेत सहभागीतामा यहाँ विजयउत्सव कार्यक्रम मनाउँदैछौं।
    नेपाली सेनाको टोली गोरखाबाट पैदलयात्रा सहित शुक्रबार विहान ११ बजे बुटवलको गणेश मन्दिरमा आइपुग्ने छ। पैदलयात्रामा सहभागीहरुलाई स्वागत गरेर बाजागाजा सहित हामी जितगढी किल्ला आइपुग्ने छौं। उहाँहरु यहाँ आएर कर्नेल उजिरसिंह थापाको शालिकमा सलामी अर्पण गर्ने कार्यक्रम छ। त्यसपश्चात औपचारिक समारोह हुने छ। कार्यक्रममा हामीले विभिन्न झाँकी, साँंस्कृतिक कार्यक्रमहरु र जितगढी किल्ला र तत्कालिन युद्धसँग सम्बन्धित वक्तृत्वकलामा प्रथम हुनेहरुको भनाइ, इतिहासविद र विभिन्न महानुभावहरुको धारणा सहित यो कार्यक्रमलाई अगाडि बढाएर भब्य रुपमा सम्पन्न गर्ने छौं।

    गत पुसमा जितगढी नेपाली सेनाबाट औपचारीक रुपमा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण भएको छ। उपमहानगरपालिकाले जितगढी किल्ला सम्बन्धी कार्यविधि पनि बनाएको छ । यो कार्यविधि कार्यान्वयनको प्रक्रिया कसरी अगाडि बढ्दै छ ?
    कार्यविधिमा उल्लेख भए अनुसार जितगढी व्यवस्थापन समितिको अध्यक्षमा उपमहानगर प्रमुख स्वतः अध्यक्ष रहने र अरु विभिन्न व्यक्तीहरु सदस्य रहने व्यवस्था छ। जितगढीको यो समितिलाई बुटवल उपमहानगरपालिकाले आफ्नो महत्वपूर्ण अंगका रुपमा हेरेका छौं। यसको संरचनामा फरक नपरोस् भनेर पुरातत्व विभागसँग समन्वय गरेर जाने पक्षमा हामी छौं। विगतमा केही कमि कम्जोरी र त्रुटीहरु भएका कुराहरु छन्। त्यसैले पुरातत्व विभागलाई छुट्टै अलग्याएर टाढा राखेर जान सक्ने अवस्था मैले देखेको छैन। आगामी दिनमा यहाँ निर्माणका कामहरु, व्यवस्थापनका कामहरु गर्दा पुरातत्व विभागलाई पनि समन्वय गरेर अगाडि बढ्नेछौं। एउटा पुरातत्व विभागले यसको संरक्षण गर्ने कुरामा यती मात्र निर्माण गर्न सकिन्छ भनेर उहाँहरुको राय अनुसार मात्र निर्माण गर्ने कुरा, दोस्रो यसको विजयोत्सव मनाउने कुरामा बुटवल र बुटवलको सेरोफेरो पाल्पाको तिनाउ गाउँपालिका, तानसेन नगरपालिका लगायत अरु स्थानिय सरकारहरुलाई हामीले अनुरोध गरेका छौं। कार्यक्रममा उहाँहरुको पनि अवश्य सहभागीता हुने छ। राष्ट्रियताको पक्षमा लाग्नेहरु, राष्ट्रियताको वकालत गर्नेहरु, पुरातत्वको संरक्षण गर्नेहरुको लागि जितगढी एउटा तिर्थस्थल हो भनेर हामीले मान्नुपर्छ। त्यही कारणले बुटवल उपमहानगरले बैशाख ७ गतेलाई एउटा बुटवलको उत्सवको रुपमा लिएर सबैसँग समन्वय गरेर यो कार्यक्रम गर्न लागेका छौं।

    जितगढी विगतमा ओझेलमा परेको अवस्था थियो। पछि केही आवतजावत देखिन थालेको छ। यसलाई एउटा महत्वपूर्ण पर्यटकीय स्थल बनाउनको लागि उपमहानगरको योजना के छ ?
    इतिहासकाको बारेमा सबैलाई जानकारी गराउने, प्रचार प्रसारको लागि पहल गर्ने नै मुख्य कुरा हो। यसका लागि स्थानिय पाठ्यक्रममा पनि हामीले समावेस गरेका छौं। सबै विद्यालय संघसंस्थाहरुलाई विभिन्न निकायलाई हामीले जितगढी भ्रमणको लागि जानकारी गराएका छौं। अब यसको बारेमा व्यापक प्रचार प्रसार नै महत्वपूर्ण कुरा हो। कर्णेल उजिरसिंहलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै पुसको नगरसभाले यसको मापदण्ड पनि बनाएर निर्णय गरिसकेको छ। त्यसको लागि हामीले अझै पहल गर्नेछौं। नेपाल सरकारका विशिष्ठ व्यक्तीहरुलाई यहाँ बोलाएर, कार्यक्रममा सहभागी गराएर तत्कालिन नेपाल अंग्रेज युद्धको परिस्थीतको बारेमा सबैसँग छलफल गर्नेछौं। यहाँको हाम्रो अनुभव, इतिहास र हाम्रो बुझाइलाई सबैका अगाडि हामीले प्रस्तुत गरेर जितगढीको महत्वको बारेमा जानकारी गराउन सक्यौं भने मात्र यो एउटा पर्यटकीय क्षेत्रको रुपमा अघि बढ्न सक्छ। हाम्रो अगाडि भएको महत्वपूर्ण सम्पत्ती महत्वपूर्ण ऐतिहासिक स्थललाई प्रचार प्रसार गर्न सकेनौ भने, बुझाउन सकेनौं भने हामी आँफै पनि ओझोलमा पर्छौँ। त्यसकारण जितगढी ओझेलमा पर्ने वा अगाडि बढ्ने भन्ने कुरा बुटवल उपमहानगरपालिका, यहाँका संघसंस्था, जनसमुदाय, राजनीतिक दल सबैमा भर पर्छ।
    यसको लागि बुटवल उपमहानगरपालिकाले नेतृत्व लिएर जितगढीको बारेमा प्रचार प्रसार गर्ने, गढीलाई संरक्षण गर्ने र पुरात्व विभागको मापदण्ड अनुसार रहेर काम गर्ने छौं। अगाडि जितगढीलाई असर नपर्ने गरि बैकल्पिक बाटो बनाएर तिनाउ नदि आरती केन्द्र निर्माण गर्ने छौं। त्यसो भयो भने साँझमा हजारौं मान्छे तिनाउ नदिमा आरती गर्न आउने ठाउँको रुपमा पनि विकास हुन सक्छ।

    जितगढी नजिकै मणिमुकुन्द सेन उद्यान छ, पुरानो बुटवल अर्थात बटौली छ। अरु पर्यटकीय गन्तव्य पनि छ। यी ठाउँलाई मिलाएर यहाँको पर्यटकीय विकास गर्ने उपमहानगरसँग के योजना छ ?
    हामीले केही दिन अगाडि पाल्पाको नुवाकोटमा कर्नेल उजिरसिंह थापाको शालिक निर्माण गर्यो। चौकी भन्ज्याग जुन बुटवलको पुरानो भन्सार कार्यालय थियो। यहाँबाट नुन तेल कपडा किनेर जाँदा त्यहाँ चेकजाँच गरेर कर लिन्थ्यो। उताबाट घिउ बोकेर आउँदा पनि कर तिर्नुपथ्र्यो । नेपाली सेना, तिनाउ गाउँपालिका र यहाँको साइन रेसुंगा बैंकको सहभागीतामा उजिरसिंहको शालिक निर्माण भएको छ। त्यहाँ हामीले एउटा देबीको मन्दिर बनाउँदैछौं। बुटवल माविदेखी नुवाकोटसम्म पैदल मार्गको लागि बन कार्यालय र मन्त्रालयसँग समन्वय गरेर पैदल मार्ग बनाउने योजना छ। उहाँहरुसँग समन्वयको प्रयासमा छौ। साढे ३ किलोमिटरको पैदलमार्ग बन्यो भने विहान हजारौं मान्छेहरु त्यहाँ जाने आउने गर्छन्। स्वास्थ्यको लागि पनि ठीक हुने इतिहास पनि झल्किने हुन्छ।
    यही ठाउँमा केबलकार निर्माण भएको छ। केबलकारले पनि यहाँको विकासमा उजागर गर्ने छ। बटौलिको गणेश मन्दिरलाई हामीले थप विस्तार गर्दैछौ। बाघ भैरब मन्दिर छ। जुन बाघ भैरबमा भारतको कामाख्याबाट मुर्ति ल्याएर पछि त्यो मुर्ति माथि नुवाकोटमा लगियो। नुवाकोटपछि पाल्पाको सेन मन्दिरमा र सेन मन्दिरपछि अहिले भैरबस्थानमा निर्माण गरिएको छ। त्यो मन्दिर हुनुभन्दा अगाडिको बाघ भैरब मन्दिर उपमहानगरपालिकाले आधिकारिक रुपमा पुजा गर्ने चलन छ। अहिले बाघ भैरब मन्दिर पनि हामीले राम्रो सुन्दर तरिकाले निर्माण गरेका छौं। असार मसान्त सम्म त्यो मन्दिर पूर्ण हुन्छ। यसरी पारी बुटवलको विकासको लागि बाटोहरु राम्रो बनाउने, मन्दिरहरुको पुननिर्माण गर्ने, जितगढीलाई व्यवस्थित गरि चहलपहल बढाउने, नुवाकोटमा चहलपहल बढाउने, फूलबारीलाई व्यवस्थीत गर्ने काममा हामी लागेका छौं। बटौली क्षेत्रका पुराना घरमा घरधनीहरु आँफू पनि नबस्ने र नबेच्ने गर्दा ति घरहरु जिर्ण भएका छन्। मैले यो कार्यक्रम मार्फत अनुरोध गर्न चाहान्छु। उहाँहरुले ति घरहरुलाई मर्मत गरि पुन प्रयोग हुन सक्ने, अरु बस्न सक्ने बनाउन पर्यो कि त नयाँ बस्नेहरुको लागि खुल्ला गरेर विक्रि वितरण गर्नुपर्यो। नयाँ ढंगले जाने वातावरण गराउन पर्यो। व्यक्तीगत सम्पत्तीमा सरकारले हस्तक्षेप गर्न मिल्दैन। तर न बेच्ने न बस्ने गर्दा इतिहास बोकेको बटौलीको विकास गर्न सकेका छैनौ। हामी यहाँका स्थानियबासी सँग पनि बसेर यो बारेमा छलफल अन्तरक्रिया गर्ने र्छाैं। उहाँहरुले उपमहानगरपालिकालाई लिजमा दिने हो भने पनि एउटा मोडलमा जान सकिन्छ।
    तिनाउमा सिग्नेचर ब्रिज बन्दै छ। यसले गर्दा पुर्वपट्टी विकास पथ र राधाकृष्ण टोल जोड्ने गरि बाटो निर्माण हुन्छ। कृष्ण मन्दिरको छेउमा आरती केन्द्र बन्ने र जितगढीमा पनि थप आरती केन्द्र निर्माण हुन्छ। जितगढीमा सिग्नेचर ब्रिजबाट सिधै आउन मिल्ने हुन्छ। पुरानो बुटवलमा विभिन्न खालका सामाजिक कामहरु त्यहाँको मानविय संसाधन र विकास हुने कामहरु सिप विकासका तालिमका कामहरुलाई जोडेर पुरानो बटौलीलाई अपग्रेड गर्न सकिन्छ। क्षमता अभिबृद्धि गर्न सकिन्छ । अब पुरानो बटौली बसौं बसौं लाग्ने र व्यवसायीक क्षेत्रमा गुल्जार र विस्तार हुने ठाउँको रुपमा कसरी रुपान्तरण गर्न सकिन्छ भन्ने बारेमा उपमहानगर चिन्तीत छ। हाम्रो ध्यान केन्द्रीत भएको छ। हामीले विकासका मोडलहरु पनि त्यही किसिमले अगाडि बढाएका छौं।

    बुटवल उपमहानगरपालिकाको समग्र पर्यटकीय योजनाहरु के छ?
    बुटवल एउटा महत्वपूर्ण र देशको मध्य विन्दुमा छ। एउटा यस्तो सम्बेदनसिल ठाउँ पनि हो। आजभन्दा २७३ वर्ष अगाडि विगतमा घनश्याम पाण्डे भारत अयोध्याको छपरी गाउँबाट बुटवल, रानीमहलको बाटो हुँदै मुक्तिनाथ जानुभयो। त्यहाँ गएर ३ महिना एउटा खुट्टाले उभिएर तपस्या गर्नुभयो र मुक्तिनाथको मन्दिर निर्माणको काममा लाग्नुभयो। त्यसपछि उहाँ पुन फर्किएर बुटवलको फूलबारीमा आएर ५ महिना बस्नुभयो। भारत फर्किएर गुजरात गएर उहाँले स्वामी नायारण आश्रम सुरु गर्नुभयो। अहिले उहाँका चेलाहरुले संसारभरी स्वामी नारायण आश्रमको १३ सय मन्दिर बनाइसकेका छन्। गुजरातमा अक्षर धाम निर्माण भएको छ। दिल्लीमा अक्षरधाम छ। अमेरिकामा मात्र झण्डै २ सयवटा मन्दिर स्वामि नारायण आश्रमका छन्। स्वामि नारायण सम्प्रदायका लाखौं भारतीयहरु बुटवल हुँदै मुक्तीनाथ जान तयार छन्। दिल्लीमा मेयरहरुको सम्मेलन हुँदा गुजरातका धेरै मेयरहरुले मलाई यो कुरा राख्नुभएको थियो। हाम्रो समूदायको मान्छेहरु मुक्तीनाथ जान तयार हुनुहुन्छ त्यसको नेतृत्व बुटवलले लिइदिन पर्यो हामीलाई भन्नुभयो। विभिन्न ठाउँमा बस्नको सुविधा होटलको व्यवस्था, माछामासु र लसुन प्याज नचल्ने हुँदा धार्मिक पर्यटकीय क्षेत्रमा त्यसप्रकारका धर्मशालाहरुको व्यवस्था गर्न भन्नुभएको थियो।
    त्यसो भएमा हामी लाखौं मान्छेहरु भारतबाट मुक्तीनाथसम्मको यात्रामा निस्कन सक्छौं भनेर उहाँहरुले भन्नुभएको छ। यसरी हामीले धार्मिक र पर्यटकीय यात्राको नेतृत्व गर्नुपर्छ। बुटवलदेखी मुक्तीनाथसम्मको यात्रामा लाखौं मानिसहरु हिन्दु धार्मिक पर्यटक लैजान सकिन्छ। त्यस्तै कोरोला नाकाबाट लाखौं चिनिया बुद्धधर्मलम्बीहरु बुटवलको बाटो हुँदै लुम्बिनी लैजान सकियो भने दोहोरो फाइदा हुन्छ। एउटै देशबाट दुई देशको सिमानाको व्यापार पनि हुने र हिन्दु धर्म तथा बुद्ध धर्मको यात्रा हुने। यस्तो महत्वपूर्ण ठाउँको केन्द्रमा हाम्रो बुटवल छ। यो सम्पत्तीलाई हामीले क्यास गर्न सकेनौं भने इतिहासमा पछाडि पर्दै गइन्छ। त्यसैले दुईवटै देशको धार्मिक र पर्यटकीय यात्रा र दुबै देशको व्यापारिक नाकाको यात्रालाई बुटवलले नेतृत्व गर्न पर्छ। त्यसको लागि बुटवलले यहाँदेखी कोरोला नाकासम्मको नगरप्रमुख र गाउँपालिकाका अध्यक्षहरुको भेला राख्ने उहाँहरुसँग छलफल गर्ने कहाँ कहाँका बाटाहरुको समस्या छन् र धार्मिक तिर्थालुहरुलाई कसरी लैजान सकिन्छ कालिगण्डकी र शालिग्रामको महत्व के छ। तत्कालिन अवस्थामा घनश्याम पाण्डे गुरु स्वामी नारायणको भूमिका के रहयो। यसलाई हामी कसरी अगाडि बढाउन सकिन्छ भनेर योजना बनाउँदैछौ।
    भारतका लाखौं धार्मिक पर्यटकलाई लैजान सक्ने र चिनिया बुद्धधर्मलम्बीहरुलाई लुम्बिनी ल्याउन सक्ने यो कुरामा हामी लाग्न सक्यौं भने बुटवलले अझ धेरै कुरामा फ्डको मार्न सक्छ। हामीले जे कुरामा आशा छ । त्यही कुरामा अगाडि बढाउने हो। पर्यटकीय क्षेत्रमा बुटवलले गर्न सक्ने नेतृत्व धेरै छ। दुई वटा केबलकार बनेका छन्। एउटा नुवाकोटमा निर्माण भएको छ। अर्को बसन्तुपरको केबलकार चलिरहेको छ। यो बाहेक हात्तीकोटदेखी बसन्तपुरसम्म धेरै व्यवसायीक साथीहरुले जग्गा किनिसक्नुभएको छ नुवाकोटमा पनि धेरै होटलहरु बनिसकेका छन्। बुटवले हेर्दा सबैभन्दा विकास हुने क्षेत्रका रुपमा यी चुरे पहाडहरु छन्। बुटवलले यसको उपयोग गर्ने त्यहाँ होटल क्षेत्र र पर्यटकीय स्थल निर्माण गर्ने र धेरै पर्यटक भित्राउने कुरामा बुटवल लागि परेको छ।

    दक्षिण तर्फ लुम्बिनी र उत्तर तर्फ पाल्पा पोखरादेखी मुक्तीनाथ सम्म जाने केन्द्रको रुपमा बुटवल छ भनेर भन्नुभयो। बुटवल भविश्यमा कस्तो पर्यटकीय केन्द्र बन्न सक्ला?
    बुटवल देशका पर्यटकीय क्षेत्र विस्तारमा सबैभन्दा बढि सम्भावना भएको ठाउँ हो। लुम्बिनी पनि हाम्रो आगनमा र मुक्तिनाथ जाने बाटो पनि हाम्रो विचबाट भएका कारण दुबै तिरको धार्मिक र पर्यटकीय क्षेत्रलाई जोड्ने मध्यविन्दुको रुपमा र त्यसको नेतृत्व गर्ने शहरको रुपमा विकसित हुँदै छ, । धार्मिक पर्यटकीय क्षेत्रमा बुटवलले देशमा सोँचे भन्दा बढि काम गर्न सक्ने क्षेत्रको रुपमा आँफूलाई स्थापित गर्ने छ।