२०८१ मंसिर ६ गते, बिहीबार २२:५५
  • लखनऊ, आगरा हुँदै दिल्लीको त्यो यात्रा, भारतमा जस्तो पर्यटकीय विकास हाम्रोमा कहिले

    राजिव गौतम
    चैत्र १२ गते शनिबार साथी शंकर पोखरेल, तेजेन्द्र केशी र म केही दिनको घुमफिरकोे लागि रुपन्देहीको बेलहिया नाका हुँदै भारततर्फ लाग्यौं। साथमा चालक भाइ दिपक पनि थिए। भारतीय नम्बरको सानो गाडीमा हामी ४ जना लखनऊको यात्रा तय गर्यौं। फराकिलो बाटोमा सरर यात्रा गर्न पाउँदा आनन्दको महशुस भयो।

    गोरखपुर क्षेत्र कटिसकेपछि एउटा ग्रामिण बजार देखियो। जहाँ नरिवल पानीको लागि प्रख्यात रहेछ। गाडी रोकेर नरिवलको पानी खायौं। पानी खाइसकेपछि त्यो भित्रको नछिप्पिएको नरिवलको भाग अचम्म मिठो हुँदो रहेछ। त्यहाँबाट अगाडि बढ्यौं। साथी शंकर चियाको पारखी थियो। उसको आग्रह अनुसार हामी चिया पसल अगाडी गाडी रोक्यौं। त्यहाँको निकै प्रख्यात चिया दुकान रहेछ। चिया दोकानमा प्रवेश गरिसकेपछि नर्क जाने बाटो र स्वर्ग जाने बाटो लेखेको रहेछ। अन्डरग्राउण्ड जाने नर्क बाटो रहेछ अनि तस्वीर पनि त्यस्तै दानवीय प्रकारको रहेछ। स्वर्ग जाने बाटो चाँही माथिल्लो छतको तलातिर रहेछ। मैले स्वर्ग जाने बाटो तिर जाम भनेपछि साथीहरुबीच हासो भयो। छतमा बस्ने व्यवस्था असाध्यै राम्रो, सजावट पनि उस्तै रहेछ। केही जोडीले आफ्नै सुरमा फोटो पनि खिचिरहेका थिए।

    चिया पिएपछि हामीले यात्रा जारी राख्यौं। साँझ परिसकेको थियो। चालक भाइलाई पालो दिएर एकछिन मैले गाडी चलाएँ।
    करिब साढे १ घण्टा जति आँफूले गाडी चलाएपछि अलि अलि बजार देखिन थाल्यो। कारको हेण्डल फेरि दिपकलाई दिएँ।
    अनलाईनबाट होटल बुक गरिएको थियो। करिब साढे ८ बजे अयोध्या नगरी पुग्यौ। रातीमा सडकभर ठूला ठूला कलाकृती सहितको पोलहरु अनि पोलहरुमा ठूलो पावरको बत्ती साँच्चीकै लोभलाग्दो र मनमोक दृष्य देखियो। हामी जसरी पनि लखनौ पुग्ने लक्ष्यले गाडी नरोकी अगाडि बढ्यौं। रातीको साढे ९ बजेको थियो। गुगल म्यापको सहयोगले होटल खोज्यौं। आधा घण्टामा लोकेसन भेटियो हामी होम प्लानिङमा पुग्यौं। २ पटक यता उता गर्दा ठाउँ भेटियो । होटल भनेको होम स्टे पो रहेछन्। राती भएकाले सुनसान थियो। गेटमा पुगेर कुरा गर्यौँ । डिउटीमा रहेका शर्माजीले हामीलाई कोठा देखाए। लामखुट्टे भएकाले गुडनाइट धुप चालु गरेर हामी खाना खान बाहिर निस्कियौं।

    होम स्टेमा खानाको व्यवस्था नभएकाले चोक तर्फ गयौं। प्राय होटल बन्द भइसकेको थियो। एउटा विरयानी पाउने ठाँउ फेला पर्यो। चिकन विरयानी मात्र उपलब्ध रहेछ। म शाकाहारी भएकाले अर्को पसल तिर लागें। भरखर खुलेको चाइनिज खाजा पसल रहेछ। एक जना भाइले चाउमिन भुट्दै थिए। त्यहाँ कुक र वेटेर दुबै नेपाली थिए। भेज फ्राइ राइस अर्डर गरेर उनीहरुसँग कुरा गर्न थालें। एउटा रुपन्देहीकै सालझण्डीको र अर्को एउटा अर्घाखाँचीका रहेछन्। आफ्नो र परिवारको छाक टार्न कतिपय युवा खाडीमा छन्। केही यसरी भारततिर आएका छन्। ति युवाहरुसँग दुख सुखका कुरा गर्दै फ्राइराइस खाएँ। साथैहरुसँग कोठामा गएँ। थकाइले होला भुसुक्कै निदाएछु।

    भोली पल्ट विहान उठेर होम स्टेमा बे्रक फास्ट गर्यौं। परौंठा खाइ सकेपछि करिब ८ बजे हामी त्यहाँबाट निस्कीएर र जनेश्वर पार्क पुग्यौ।

    लखनऊका १२ वटा महत्पूर्ण पर्यटकीय स्थल मध्ये यो पार्क एउटा स्थल रहेछ। ठूलो क्षेत्रमा फैलिएको यो पार्कमा लामो समय विताउने मन थियो। यात्रा छोटो भएकाले सबै नघुमी आगरातर्फ अगाडि बढ्यौं। भिडभाड र सडकको सञ्जालले मुख्य रोड भेटाउनै गाह्रो भयो। बजारलाई एक चक्कर लगाइसकेपछि गुगल म्यापको सहायताले पत्ता लाग्यो। बजारमा घुम्दा चाँही आनन्द आयो। सफा ठूला ठूला सडकका भित्रामा समेत कलाले भरिभराउ इतिहास झल्काउने तस्वीरहरु थिए। उत्तर प्रदेशको राजधानी लखनौ विकासशील शहरको रुपमा अघि बढ्दै रहेछ। सुनसान तर रमाइलो ८ लेनको सडकमा आइपुगियो। अन्तराष्ट्रिय राजमार्गमा हामी हुइकिन थाल्यौं।

    आधुनिक प्रविधिले युक्त सडक थियो। ठाउँ ठाउँमा स्पीड च्यालेन्जीङ हुँदो रहेछ। तर ट्राफिक प्रहरी सडक भर कतै देखिएन। राजमार्गमा संकेतहरु प्रशस्त र व्यवस्थीत थिए। भारतका सयौं स्थानमा यस्ता राजमार्ग छन्। भरखरै प्रधानमन्त्री नरेन्द्र मोदीले २१ वटा राजमार्ग एकैपटक उद्घाटन गरेका थिए। यी सडकमा यात्रा गर्दा मलाई भने हाम्रो देशको राजमार्गको अवस्था र हाम्रा नेताहरुको प्रवृत्तिप्रति दिक्क लागेर आयो। यहाँका सडकका दुबै छेउमा कृषि क्षेत्र, जमिनमा मज्जाले उत्पादन गरिएको रहेछ। बस्ती नभएको ठाउँमा व्यवस्थीत कृषि उत्पादन र संरक्षण देखिएको थियो। यसरी रमणिय दृष्य नियाल्दै अगाडि बढ्यौं। बाटोमा सामान्य चिया नास्ता गरियो। करिब ३ बजे आगरा पुग्यौं। अत्यन्तै भिडभाडको विचमा गाडी पार्किङ स्थलमा पुगियो। पार्किङबाट करिब २ किलोमिटर हिडेपछि टिकट काउण्टर आयो। आग्रामा रहेको ताज महल विश्वको ७ आश्चर्य मध्ये एक मानिन्छ।

    भारतीयहरुलाई ताज महलको अवलोकनको लागि ५० रुपैया रहेछ। सार्कका नागरिकलाई २५० र विदेशीलाई ९०० रुपैया भारु टिकट शुल्क रहेछ। भित्र संग्रालय छिर्न फेरी २५० भारु तिर्नुपर्ने थियो। दिनमा करोडौं उठ्ने रहेछ। संसारभरबाट पर्यटकहरु ताजमहल हेर्न आउँदा रहेछन्। कडा सुरक्षाका विच हामीमुख्य गेटबाट प्रवेश गर्यो। खचाखच मान्छेको भिड थियो। फोटोग्राफरको व्यापार राम्रो रहेछ। युवादेखी बृद्धसम्म केमरा बोकेर फोटो खिच्न बसेका थिए, तर हामीले चाँही आफ्नै मोबाइल प्रयोग गरेर फोटो खिच्यौं। एक चक्कर ताजमहल घुमेर त्यसपछि यमुना नदिको दर्शन गरि गेटबाट बाहिर निस्कियौं।

    पर्यटकहरुको लागि चिनो स्वरुप विभिन्न प्रकारको सामान विक्रिको लागि व्यापारीहरु देखिए। सुरुमा ८ सय सम्म भनेको चिजलाई २ सय सम्म दिँदा रहेछन्। बार्गेनिङ गर्न नजान्ने गज्जबले ठगिने रहेछ। अटोबाट हामी पार्किङस्थलमा पुग्यौं। दौडधुप ज्यादै भएकाले खाना खाने मौका नै मिलेन। आग्राको प्रख्यात पेठा किन्यौ र दिल्लीको लागि निस्कियौं। खाना खाने भनेपछि ढावा खोज्यौं। खाना खाएर करिब ४ बजे आग्राबाट हामी दिल्लीको लागि फराकिलो राजमार्गमा हुइकिँदै अगाडि बढ्यौं। नोयडाको नजिक पुग्दा फरक दृष्य देखियो। ५० औं तलाका बडेमानका भवनहरु थिए। एउटा होइन हजारौं हजार संख्यामा।

    जति जति पर गयो उती बजार व्यापक फैलिदै गएको थियो। नोयडा साँच्चीकै ग्रेट नोयडा रहेछ। दिल्लीको छेउमा रहेको उत्तर प्रदेशको शहरको विकास देखेपछि युरोप अमेरिकाको झल्को आउने रहेछ। त्यतीका जनसंख्यालाई व्यवस्थित गर्दै विकासको गति तिब्र पारिरहेको छ। हाम्रै छिमेकी देशले भुगोल र अथाह जनसंख्यालाई व्यवस्थीत गर्दै देशलाई संसारको पाँचौ स्थानमा पुर्याइसक्यो। हामी आन्तरिक कलह, झगडा राजनीतिक खितातानीमै रुमलिरहेका छौं। जसका कारण युवाहरुले देशमा भविश्य देख्न छोडे। तन्नेरी र पाखुरा अलि अलि चल्ने समेत देश छोड्ने लर्को छ।

    राती करिब ९ बजे नोयडाको ६२ स्ट्रीटमा सानोमा सँगै पढेका साथी प्रेम भेट भए। उनी पहिलेदेखी नोयडा आएर व्यापार गर्दै थिए। उनको पसलमा गयौं। ग्राहकको भिडभाडका बिच पनि प्रेमले हामीलाई न्यानो आथित्य र स्वागत गरे। प्रेमको निवासमा खाना खाइसकेपछि हामी अनलाईन बुक गरेको होटलमा गयौं। तर होटल चित्त नबुझेकाले अर्को होटल खोजेर सुत्यौं। विहानै उठेर प्रेमसँगै लालकिल्ला गयौं। लाल किल्लाको पुरानो भग्नावशेषलाई गज्जबले संरक्षण गरेको रहेछ। जसको कारण लाखौ पर्यटक आउनै पर्ने र हेर्नै पर्ने बनाइएको छ।

    सुरक्षाको राम्रो व्यवस्था गरेको लालकिल्ला भित्र छिरे पछि कुनै दरबारमा पसे जस्तो महसुस हुन्छ। लाल किल्लापछि चाँदनीचोक पुग्यौं। चोर बजार भन्ने ठाउँ पनि रहेछ। चोरेको कानूनी रुपमै व्यापार हुने बजार त्यस दिन चाँही बन्द थियो । साथीहरुले केही सामान किने।

    त्यसपछि हामी इण्डीया गेट हुँदै अक्षरधाम जाने र लोटस टेम्पल हेर्ने भनेर हिड्यौं। गुगल म्यापको थुप्रै धर्साहरुले देखाएको गल्ली घुमेपछि फेरि उही ठाउँमा पो आइएछ। त्यो ठाउँमा प्रशासकिय सरकारी कार्यालयहरु रहेछन्। बल्ल पो लोटस टेम्पल भेटियो। समय अभावको कारण पुरै मन्दिर घुम्न चाँही सकिएन। एउटा सपिङ कम्प्लेक्समा गयौं। अलि अलि सामान किन्यौं। हतार हतार प्रेमको पसलमा आयौं। करिब ३ बजे चिया खाइवरी त्यहाँबाट निस्कीयौं। हाम्रो दिल्लीको यात्रा यतीमै सिमित रहयो।

    बृन्दावन राजमार्गदेखी १५–१६ किलोमिटर भित्र पर्ने रहेछ। त्यहाँ पनि पसेर आउने योजनाका साथ गाडी दौडायौं। तर आउँदा आउँदै झमक्कै रात पर्योे। लखनौ जसरी पनि पुग्ने लक्ष्य थियो। थकाइले होला आग्रा कटेको पत्तै भएन। ३०–४० किलोमिटर अगाडि आइसकेपछि चिया खाना गाडि रोक्यौं। राजमार्गदेखी अलि टाढा छेउतिर चिया विस्कुट र पकौडा जस्तो देखिने परिकार खायौं र गाडीमा बस्यौं दिपक भाइलाई आराम दिएर फेरि मैले गाडी चलाउन थालें। डेढ घण्टापछि फेरी दिपकले नै गाडी चलायो। लखनौ नजिकै आइपुगेका थियौं । शंकरले होटल अनलाईन बुकिग गरेकाले हामीले त्यो खोज्दै गयौं। गुगल म्यापले धोका दिएकाले हामी अर्को विकल्प खोज्यौं। रातको करिब १२ बजिसकेको थियो। बेस्सरी भोक लागिसकेको थियो। लखनौ शहर लगभग सबै निदाइसकेको थियो। केही राजमार्गका ढावाहरु खुलेको देखिन्थ्यो। एउटा ढावामा कसैले रोटी सब्जी र केहीले खाना खायौं।

    खाना खाइवरी होटल खोज्न हिड्यौं। होलिडे इन होटलमा गइ ४ जनाले दुई वटा कोठा लिएर रात वितायौं। भोलिपल्ट विहानै उठेर यात्रा सुरु गयौं। अयोध्या दर्शन गर्ने योजना थियो त्यहाँ आइपुग्दा अत्यन्तै भिडभाड रहेछ। गाडी पार्किङको पनि समस्या ३–४ किलोमिटर वर पार्किङ गरेर अटो चढेर जानुपर्ने। धुलो उस्तै भएकाले राजमार्गबाटै दर्शन गरेर सुनौली तर्फ लाग्यौं।

    ठूलो भुगोल र त्यतीका जनसंख्यालाई व्यवस्थापान गर्दै भारतले आर्थिक पूर्वाधारको विकासमा छलाङ मार्दैछ। ठूलो संख्यामा पर्यटकलाई भित्राएर विदेशी मुद्रा समेत आर्जन गरेको छ। सहि नेतृत्व र संकल्प हुने हो भने नेपालमा पनि केही वर्षमै कायाकल्प हुन सक्थ्यो। युवाहरुमा निराशा हट्थ्यो। देशमै केही गर्न सकिन्छ भनेर आशावादी हुन्थे। विदेशीएका बलिया पाखुरा र क्षमतालाई यही माटोमा प्रयोग हुन्थे। यीनै कुरा सोँच्दै हामी सुनौली नाका हुँदै नेपाल भित्रियौं।