२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • लुम्बिनी आएका पर्यटकलाई कम्तीमा २ दिन भुलाउँ, यस्तो बन्न सक्छ प्याकेज

    बरुण ज्ञवाली
    लुम्बिनी आएका धेरै पर्यटकहरु मायादेवी मन्दिर र आसपास मात्र घुमेर फर्किने गर्दछन्। जसले गर्दा हाम्रो पर्यटन क्षेत्रले खासै फाइदा लिन सकेको छैन। पर्यटकहरुलाई भुलाउन बुद्ध परिपथका अन्य गन्तव्यहरुमा पनि पुर्याउनुपर्छ। नवलपरासी पश्चिमको रामग्राम बुद्धको अस्ती धातु भएको ठाउँ हो। रुपन्देहीको देबदह बुद्धको माओली क्षेत्र र कपिलबस्तुको तिलौराकोट बुद्धले २९ वर्ष विताएको ठाउँ अर्थात राजा शुद्धोधनको दरबार क्षेत्र हो। कपिलबस्तुमै अन्य बुद्धस्थलहरु पनि छन्।

    यी ठाउँको उचित प्रचार प्रसार र व्यवस्थापन हुनुपर्छ। सरकारी स्तरका कार्यक्रमहरु लुम्बिनीमा मात्र केन्द्रीत हुन्छन्। यी कार्यक्रम अरु बुद्धस्थलहरुमा पनि गरियो भने ति ठाउँको थप प्रचार र प्रवद्र्धन हुन्छ। पर्यटन व्यवसवायीहरुले लुम्बिनीलाई केन्द्रीत गरेर आफ्ना टुर प्याकेजहरु बनाएका छन्। हामी पर्यटन व्यवसायीहरुले लुम्बिनी मात्र होइन बुद्धसँग सम्बन्धित अन्य थुप्रै महत्वपूर्ण ठाउँहरु छन् भनेर चिनाउनुपर्छ।

    रामग्राम, देवदह, तिलौराकोट क्षेत्रलाई पनि टुर प्याकेजमा समावेस गरेर लैजान एकदम जरुरी भइसकेको छ। लुम्बिनी आएका पर्यटकहरुलाई यी ठाउँको महत्वको बारेमा राम्रोसँग बुझाउन सकियो भने बौद्ध धर्मलम्बी विदेशी पर्यटकहरु पक्कै पनि बुद्ध परिपथका विभिन्न बुद्धस्थलमा पुग्छन्। राम्रो प्रचार प्रसार भयो भने स्वदेशी पर्यटकको समेत चहलपहल बढ्छ भन्ने हामीलाई विश्वास छ। त्यसैले पर्यटकहरुको लागि लुम्बिनीको एक दिनको मात्र प्याकेज बनाउने होइन। कम्तीमा २ रात ३ दिनको प्याकेज बनाएर लुम्बिनी आएका पर्यटकहरुलाई भुलाउनुपर्छ।

    मैले पनि विदेशी पर्यटकहरुको लागि प्याकेज बनाउँदा रामग्राम देबदह र तिलौराकोट सहित कपिलबस्तुका बुद्धस्थलहरुलाई पनि समावेश गर्ने गरेको छु। प्याकेज अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने वा बेलहिया नाकाबाट भित्रिने पर्यटकहरुलाई पहिलो दिन रामग्राम लैजान सकिन्छ। रामग्राम र देबदह घुमेर उनीहरु लुम्बिनी जान्छन्। दोस्रो दिन पर्यटकहरु लुम्बिनी मायादेबी मन्दिर सँगै अन्य गुम्बा तथा विहारहरु घुम्नेछन्। अर्को दिन कपिलबस्तुको तिलौराकोट सहित विभिन्न बुद्धस्थलहरु घुमाउन सकिन्छ। प्रकृति मन पराउनेहरुलाई जगदिशपुर तालको पनि अवलोकन गराउने सकिन्छ। जहाँ चराहरुको बासस्थान हो।

    त्यो बाहेक पर्यटकलाई सुरुमा बुद्धजन्मस्थल लुम्बिनी घुमाएर नवलपरासी र कपिलबस्तु घुमाउने योजना पनि बन्न सक्छ।
    यसरी लुम्बिनी र अन्य बुद्धस्थल घुम्ने पर्यटकको लागि राम्रो प्याकेज बन्छ। अब सरकार, लुम्बिनी विकास कोष र हामी पर्यटन व्यवसायीहरुले तीन वटै जिल्लाका बुद्धस्थलहरुलाई समेटेर लुम्बिनीको प्रचार प्रसार र पर्यटकीय विकास गर्न जरुरी छ।

    (पर्यटन व्यवसायी ज्ञवाली आयन होलिडेका सञ्चालक हुन्)