२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • लुम्बिनी करिडोरमा विद्युतीय बस र पर्यटनमैत्री पुर्वाधारका दुई परियोजना लगानी सम्मेलनमा प्रस्तुत


    बुटवल– बुद्ध जन्मस्थल लुम्बिनी र आसपासका क्षेत्रलाई समेटेर विद्युतीय बस सञ्चालन सम्बन्धी दुई परियोजना अगाडि सारीएको छ। काठमाडौँमा जारी लगानी सम्मेलनमा डेभलपमेन्ट अफ इलेक्ट्रिक मोबिलिटी करिडोर इन लुम्बिनी र ग्रेटर लुम्बिनी टुरिष्ट सर्किट ट्रान्सपोटेसन प्रोजेक्ट सम्मेलनमा प्रस्तुत भएको हो।

    नगर विकास कोषले बनाएको डेभलपमेन्ट अफ इलेक्ट्रिक मोबिलीटी करिडोर आयोजनाले रुपन्देही र कपिलबस्तुका मुख्य शहर बजारलाई विद्युतीय यातायातले जोड्दछ। जस अनुसार लुम्बिनीबाट कपिलबस्तु नगरपालिका, बाडगंगा नगारपालिका सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका सिद्धार्थ नगरपालिका हुँदै पुन लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गर्ने योजना छ।

    यसको रुट १७३ किलोमिटरको हुने छ। परियोजना अन्तर्गत विद्युतीय बससँगै बस स्टप, इबस पार्किङ, टर्मिनल विल्डिङ र चार्जिङ स्टेसनहरु बन्नेछन्। यो आयोजनाको लागि ४ अर्ब ३१ करोडको लागत अनुमान गरिएको छ। अन्तरपालिका यातायातसँगै ग्रामिण विकासको उदेश्यले यो आयोजना ल्याइएको लगानी बोर्डको भनाइ छ।

    यस्तै ग्रेटर लुम्बिनी टुरिष्ट सर्किट ट्रान्सपोर्टेसन प्रोजेक्टले बृहत लुम्बिनी क्षेत्रका ३ जिल्लालाई समेटेको छ। यो आयोजनाले नवलपरासी पश्चिम, रुपन्देही र कपिलबस्तुका १० वटा मुख्य बुद्धिष्ट साइटहरुलाई जोड्दछ। १९० किलोमिटर दुरीमा विद्युतीय बस सञ्चालनको योजना छ । साथै यी सडक क्षेत्रमा पर्यटनमैत्री सुविधाका पूर्वाधारहरु बन्ने छ। सडकसँगै साइकल ट्रायक, चार्जिङ स्टेसन, पर्यटक विश्राम कक्ष, स्ट्रीट लाइट लगायतका पूर्वाधारहरु बन्ने गरि योजना बनेको छ।

    बाह्या पर्यटक र स्थानियहरुलाई यातायातको सहज सुविधाका लागि यी आयोजना अघि सारेको लगानी बोर्डले जनाएको छ। यी दुबै आयोजना अहिले अध्ययनकै चरणमा छन्। जारी लगानी सम्मेलनमा पर्यटकीय विकास सम्बन्धी अन्य १६ आयोजना प्रस्तुत हुँदै छ। त्यस मध्ये यी दुई आयोजना पनि प्रस्तुत हुन लागेको हो।