२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • स्थलमार्ग हुँदै आउने ८१ प्रतिसत पर्यटक बेलहियाबाटै (कुन नाकाबाट कति आए)

    बुटवल– रुपन्देहीको बेलहिया पर्यटक भित्रने मुख्य नाकाको रुपमा रहेको छ। २०२३ मा मुलुकभर स्थलमार्गबाट १ लाख ६१२ पर्यटक नेपाल भित्रिएका थिए। जसमध्ये ८१ हजार ३३८ जना बेलहिया नाकाबाटै भित्रिएका नेपाल पर्यटन तथ्यांक २०२३ मा उल्लेख छ। स्थलमार्गबाट भित्रने कुल पर्यटकको ८१ प्रतिसतले यही नाका प्रयोग गरेका छन्।

    बुद्धजन्मस्थल रुपन्देहीमै भएकाले लुम्बिनी घुम्न आउनेहरुका कारण बेलाहियाबाट भित्रने पर्यटकको संख्या बढि देखिएको हो। धेरै भारतीय र केही विदेशी पर्यटकहरु बेलहिया हुँदै आउने गरेका छन्। लुम्बिनीसँगै पाल्पा, पोखरा, मुक्तीनाथ र काठमाडौँसम्म जाने पर्यटकहरुले बेलहिया नाका नै प्रयोग गर्ने गरेका छन्।

    बेलहिया पछि रसुवागढी नाकाबाट पर्यटक आएका छन्। २०२३ मा रसुवागढी नाकाबाट १० हजार ४४७ पर्यटक भित्रीएका छन्।
    गत वर्ष झापाको काकडभित्ताबाट ३ हजार १२५, सिन्धुपाल्चोकको कोदारीबाट २ हजार ४९०, पर्साको विरगंज नाकाबाट २ हजार ६, कन्चनपुरको गड्डाचौकीबाट १ हजार २२, मोरङको विराटनगरबाट १८३ र बाँकेको जमुनाहा नाकाबाट १ जना मात्र पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको छ।