२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि निगम र हिमालयन एयरलाइन्सले अगुवाइ गुर्नपर्ने

    नयाँ महाप्रबन्धकका यस्ता छन् सुझाबहरु



    भैरहवा
    – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले भैरहवाबाट अन्तराष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले अगुवाइ गर्नुपर्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यसँगको छलफलमा उनले निगम र हिमालयनले भैरहवाबाट खाडी तथा बुद्धिष्ट मुलुकमा उडान विस्तार गर्नुपर्ने धारणा राखे। ‘नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सबाट खाडी मुलुक का विमानस्थल, चीन, भारत र बुद्धिस्ट मुलुकका विमानस्थलमा समेत क्रमश नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार प्रसार हुने र अन्य वायु सेवा लाई पनि उडान सुचारु गर्न आधार तय हुने देखिन्छ।’ समितिका सांसदहरुसँग तिवारीले भने।

    सांसदहरुसँग महाप्रबन्धक तिवारीले भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडानको लागि १० बुँदे सुझाबहरु राखेका छन्।
    जसमा यात्रु सेवा दस्तुर र ग्राउण्ड हन्डलिङ दस्तुर घटाउनुपर्ने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने रहेको छ। यहाँबाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र छिमेकी मुलुकको तुलनामा महंगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिनुपर्ने तिवारीको सुझाब छ। ‘इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिएको खण्डमा अन्तर्राष्ट्रिय उडान को हवाई भाडा कम हुन गई यात्रु हरु यस विमानस्थल प्रयोग मा आकर्षित हुने माग भै आएकोले यस सम्बन्धमा आगामी आ ब को बजेट नीति कार्यक्रम ले उपयुक्त सम्बोधन हुन पर्ने।’ उनले भने।

    त्यस्तै भैरहवालाई ट्रान्जिट कार्गोको रुपमा विकास गर्ने, बैदेशिक रोजगारीमा जाने यात्रुले मेडिकल टेष्टको लागि काठमाडौँ जान नपर्ने गरि व्यवस्था गर्ने, भैरहवामा म्यानपावर अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले गर्नुपर्ने, खाडी मुलुका बायुसेवाले काठमाडौँबाट गर्ने उडानको २० प्रतिसत भैरहवाबाट गर्नुपर्ने लगायतका धारणा तिवारीले समितिका सांसदहरुसँग राखेका छन्। सबै सुझाव नेपाल सरकार, मन्त्रालय र अन्तर्गत निकायले गर्न सकिने विषयहरू भएको महाप्रबन्धक तिवारीको दाबी छ।

    यी हुन १० बुँदे सुझाव तथा धारणा

    १. हाल आई. एल. एस. (Instrument Landing System) विधि (low visibility मा अवतरण गर्ने विधि) airspace काे limitation का कारण ILS सञ्चालनमा आउन नसकेको अवस्थामा यांत्रिक विधि(IFR) मा उडान गर्दा न्यूनतम visibility 1800m चाहिने भएको ले विशेष गरी winter मा विगत मा अन्तर्राष्ट्रिय उडान होल्ड , डाइभर्ट हुनु परेको कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्प काे रूपमा प्राधिकरणले भू उपग्रह मा आधारित (RNP-AR Approach) विधि बनाउँदा थप खर्च पनि नलाग्ने, visibility 1000m भन्दा कम(ILS कै सरह) मा अवतरण गर्न सक्ने सम्भावना भएको ले यसको कारबाहीको लागि यस कार्यालयबाट प्राधिकरण प्रधान कार्यालयमा अनुरोध गरि सकिएको छ।

    २. गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकट मा VAT लगाउने निर्णयले हवाई भाडा बढेको गुनासो सहित विभिन्न वायुसेवा कम्पनी हरु ले हवाई भाडा घटाउन माग गरी आएका छन्। साथै यस विमानस्थल बाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा हवाई भाडा सस्तो हुनु पर्ने त्यसको लागि, प्राधिकरणले landing, parking, navigation, security charge छुट दिई सकेको मा थप यात्रु सेवा दस्तुर घटाउने, ग्राउण्ड हन्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, यहाँ बाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनकाे मूल्य छिमेकी मुलुकको तुलनामा महंगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिएको खण्डमा अन्तर्राष्ट्रिय उडान को हवाई भाडा कम हुन गई यात्रु हरु यस विमानस्थल प्रयोग मा आकर्षित हुने माग भै आएकोले यस सम्बन्धमा आगामी आ ब काे बजेट नीति कार्यक्रम ले उपयुक्त सम्बोधन हुन पर्ने।

    ३. हाल नेपाल वायुसेवा निगम ले मात्र हप्तामा एक उडान क्वालालम्पुर बाट गौतमबुद्ध विमानस्थल गरिरहेको भएता पनि सोचे अनुरूप यात्रु आएका छैनन। विगतमा Jazeera airlines ले खाडी मुलुक बाट सीधा उडान गरेको भएता पनि यिनै विविध कारण देखाई उडान बन्द गरेकोले , नेपाल का अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक: नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्स बाट खाडी मुलुक का विमानस्थल, चीन, भारत र बुद्धिस्ट मुलुकका विमानस्थलमा समेत क्रमश नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार प्रसार हुने र अन्य वायु सेवा लाई पनि उडान सुचारु गर्न आधार तय हुने देखिन्छ।

    ४. यस विमानस्थललाई transit cargo काे रूपमा विकास गर्न तथा traffic load का लागि नेपाली वायुसेवा ले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका वायु सेवा का लागि Fifth freedom right प्रदान गरी विमानस्थल काे उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनु पर्ने।

    ५. यस विमानस्थल लाई सबै वाइडबडी category को जहाजको लागि TIA काे alternate काे रूपमा तयार गर्न नेपाल वायु सेवा निगम ले वाइडबडी लाई समेत हुने गरी ground handling उपकरण र जनशक्तिको व्यवस्था गर्ने।

    ६. अहिले खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल टेस्ट काठमाडौंको तोकिएको टेस्ट सेन्टर बाट मात्र गरी आएको मा यात्रुको लागि काठमाडौं जानु पार्ने झन्झट का कारण विगतमा हिमालयन एयरलाइन्स काे उडान समेत प्रभावित हुन पुगेको ले, भैरहवाको सरकारी अस्पताल बाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालय बाट सम्बन्धित मुलुकमा पहल हुन पर्ने।

    ७. भैरहवा मा नै मेनपावर कम्पनी अफिस खोल्ने ब्यवस्था श्रम मन्त्रालयले मिलाइदिन पर्ने।

    ८. धनगढी/नेपालगञ्ज – भैरहवा, चन्द्रगढी/विराटनगर/जनकपुर – भैरहवा अन्तरप्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आवागमन गराउन आन्तरिक वायुसेवा कम्पनी लाई पर्यटन/CAAN ले छलफल गर्न पर्ने ।

    ९. उपरोक्त व्यवस्था मिलाई खाडी मुलुक का वायु सेवा ले TIA बाट गर्ने कुल उडान को 20 प्रतिशत उडान GBIA बाट गर्न पर्ने र थप उडान माग गर्ने वायुसेवा लाई TIA मा SLOT नदिने व्यवस्था मिलाउने।

    १०. यात्रु हरु काे लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकुलको थप सुविधा स्थानीय निकाय ले व्यवस्था गर्ने।

    उपरोक्त सबै सुझाव नेपाल सरकार , मन्त्रालय र अन्तर्गत निकायले गर्न सकिने विषयहरू हुन। airspace, entry route सम्बन्धमा भए राम्रो हुने ।सबैको साझा प्रयास र सहयोग अपेक्षा गरिएको छ।