२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • लुम्बिनीमा चिनिया पर्यटक आगमन कोभिड अघिकै लयमा फर्किएको हो त ?

    लुम्बिनी-गत अप्रिल महिनामा बुद्धजन्मस्थल लुम्बिनीमा १ हजार ५४५ चिनिया पर्यटक आएका छन्। अघिल्लो वर्षको यो अवधिको तुलनामा ११ सयले बढि हो। २०२३ को अप्रिल महिनामा ४१४ चिनिया आएका थिए। गत अप्रिलमा नेपाल र भारत बाहेक तेस्रो मुलुक मध्ये सबै भन्दा बढि चिनिया पर्यटक छन्। अरु मुलुकको आगमनदर हजार भन्दा कम छ।

    समग्रमा लुम्बिनीमा पर्यटक आगमन मार्चको तुलनामा अप्रिलमा ह्वात्तै घटेको छ। तर चिनीया पर्यटक खासै घटेको छैनन्। मार्चमा १ हजार ६७९ चिनिया लुम्बिनी आएका थिए। अप्रिलको तथ्यांकले लुम्बिनीमा चिनिया पर्यटक कोभिड अगाडिकै लयमा फर्किन लागेको देखिएको छ। कोभिड अगाडि सन २०१९ को अप्रिल महिनामा १ हजार ८२१ चिनिया आएका थिए। २०१७ को सोही अवधिमा अहिलेको भन्दा कम १ हजार ३४६ जना चिनबाट लुम्बिनी आएका थिए।

    २०१९ को अन्तिम तिर चिनबाटै कोरोना संक्रमण फैलिएको थियो। त्यस यताका केही वर्ष लुम्बिनीमा चिनिया पर्यटक आगमन नगन्य थियो। २०२० मा अप्रिलबाट नेपालमा समेत लकडाउन भयो। २०२१ को अप्रिलमा १४ जना, २०२२ को अप्रिलमा ११ जना मात्र चिनिया आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लखे छ। अघिल्लो वर्ष २०२३ को अप्रिलमा ४१४ जना लुम्बिनी आएका थिए।गत अक्टोवर महिनापछि लुम्बिनीमा चिनिया पर्यटक आगमनले गति लिन लागेको हो।

    कोभिडका कारण चिनले आफ्ना नागरिकलाई मुलुक बाहिर घुम्न रोक लगाएको थियो। तर एक वर्ष अगाडि उसले नेपाललाई घुम्नुपर्ने देशको सूचीमा राख्यो। त्यसैले लुम्बिनीमा चिनिया पर्यटक बढेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई सिद्धिचरणले बताए। ‘चिनियाहरुले नेपाललाई भ्रमण गर्नुपर्ने सूचीमै राखेका छन्। त्यसैले चिनिया पर्यटकहरु आइरहेका छन्।’ उनले भने ‘केही दिन अघि चिनिया दुतावासको समेत आयोजनामा म्याराथन, सांस्कृतिक कार्यक्रम भयो। त्यसले पनि चिनमा राम्रो सन्देश गएको छ।’ चिनिया पर्यटक पुरानै लयमा नआइसकेको तर आउने क्रममा रहेको कोषाध्यक्ष भट्टाराईको भनाइ छ।

    होटल संघ लुम्बिनीका पूर्व अध्यक्ष मिथुन मान श्रेष्ठले चिनिया पर्यटक आगमनले केही आशा जगाएको उल्लेख गरे । जुन अनुसार आउनुपर्ने हो त्यो अनुसार चिनीया पर्यटक अझै आएकै छैनन् । उनले भने तर अघिल्लो वर्ष भन्दा यो वर्ष बढेको अवस्था छ । त्यसले केही आशा जगाएको छ । यो वर्ष चिनिया पर्यटकहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने श्रेष्ठको भनाइ छ । उनले चिनबाट भैरहवा सिधा हवाइ उडान आवश्यक भएको उल्लेख गरे।