२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै सिउबा संघद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ। एउटा कार्यक्रमको शिलसिलामा पश्चिम नवलपरासी आएका प्रचण्डलाई व्यवसायीहरुले ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाउँदै नेपाल एयरलाइन्सबाट भए पनि तत्काल दैनिक उडान गर्न आग्रह गरे।
    संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, संघका पदाधिकारी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरुले भेटेर तत्काल विमानस्थलबाट दैनिक उडानको वातावरण बनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्।

    ‘भैरहवाबाट दैनिक उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी समेत जोखिममा परेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शिघ्र अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने थिए’, संघले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमितका लागि छिटो भन्दा छिटो आवश्यक कदम चाल्न आग्रह गर्दछौं ।’

    अहिले वैदेशिक रोजगारमा जानेका लागि श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौं जानुपर्ने अवस्था छ। संघले स्वास्थ्य जांच परीक्षण भैरहवा, बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटो भन्दा छिटो मिलाउन आग्रह गरेको छ। यस्तै, दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्नुपर्ने, आइएलएस उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकोले यो उपकरण छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने माग संघको छ। ‘भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहूलियत साथै कम्तिमा ५ वर्षको लागि ग्राउण्ड ह्याण्डलिङ्ग आफै गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न माग गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानहरूलाई हवाई इन्धनको मूल्य काठमाडौंमा भन्दा सस्तो गर्न गर्नुपर्ने, अहिले तराईतिरैबाट काठमाडौं पुग्ने हवाई इन्धनको मूल्य काठमाडौं र तराईमा एकै रहेको भन्दै स्थान अनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरू आकर्षित हुनसक्ने संघले जनाएको छ ।

    चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलंका, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी बुद्ध धर्म मान्ने देशहरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन् । ती देशहरूसँग कुटनीतिक पहल गरी कम्तिमा हप्ताको एक उडानका लागि गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।
    हवाई टिकटमा लाग्दै आएको मूल्य अभिवृद्धि कर ९भ्याट० फिर्ता लिन पनि संघले माग गरेको छ। विदेशी दातृ निकायबाट प्राप्त विद्युतीय बसहरू विगत ३ वर्ष भन्दा लामो समयदेखि लुम्बिनीमा थन्किएर बसेकोमा ती बसहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्विनी, भैरहवा र बुटवलसम्म सञ्चालनको माग पनि गरिएको छ ।

    यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भइरहेकोमा अब यो उडानलाई कम्तिमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्था हुनुपर्ने आफूहरुको माग भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिए।