२०८१ आश्विन २१ गते, सोमबार ०७:०७
  • मुलुक बाहिर २३९ उडान, २० हजार प्रस्थान, १६ हजार भैरहवा झरे

    काठमाडौंमा दैनिक ५० देखी ५५ वटा अन्तर्राष्ट्रिय उडान हुँदा भैरहवामा सातामा एउटा एकतर्फी उडानले धानेको छ


    भैरहवा -ठीक दुई वर्ष अघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो। २०७९ साल जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले कुवेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए।

    उद्घाटन भएको २ वर्षको अवधिमा हालसम्म २३९ वटा अन्तराष्ट्रिय उडान र त्यतीकै संख्यामा अवतरण भएका छन्। यी उडानबाट १६ हजार ५७६ जना यात्रु भैरहवा झरेका छन्। त्यस्तै २० हजार ३८१ जना भैरहवाबाट मुलुक बाहिरको लागि प्रस्थान गरेका गौतम बुद्ध विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले जानकारी दिए। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ५० देखी ५५ वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ। तर भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल अहिले हप्तामा एउटा एकतर्फी उडानले धानेको छ।

    नेपाल बायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाजले अहिले मलेसियाको क्वालाम्पुरबाट भैरहवा हुँदै काठमाडौँ उडान गरिरहेको छ। अघिल्लो वर्ष जेठको अन्त्यबाट उडान सुरु गरेको निगमले भैरहवामा ३९ पटक अवतरण गरेको छ। त्यस्तै ३९ पटक उडान गरेको छ। क्वालालाम्पुरबाट आएर भैरहवा अवतरण गर्ने निगमको जहाज यहाँबाट काठमाडौँ उडान गर्ने गर्दछ। जाडो याममा कम भिजिलिटी भएका कारण केही हप्ता निगमले भैरहवामा उडान गर्न सकेको थिएन।नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म १ हजार ६५१ जना भैरहवा अवतरण गरेका छन्। ४० जना मात्र मुलुक बाहिर जानको लागि भैरहवाबाट उडेका छन्। गत भदौदेखी नेपाल एयरलाइन्सले भैरहवाबाट काठमाडौं ट्रान्जिट हुँदै हङकङ र दिल्ली उडान सुरु गरेको छ। तर ट्रान्जिटप्रति यात्रु खासै आकर्षित भएका छैनन्।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरवेजले भैरहवामा उडान भरेको थियो। भैरहवामा जजिराले कुल १३६ वटा उडान र १३६ वटा अवतरण गरेको छ। यो उडानबाट १४ हजार ६८६ जना भैरहवामा अवतरण गरेका थिए। १५ हजार ६५२ जनाले भैरहवाबाट उडान गरे। एक वर्ष भन्दा अघिदेखी भैरहवामा जजिराको उडान छैन।

    २०७९ सालमा ३ महिनाजति हिमालयन एयरलाइन्सले भैरहवा मलेसिया उडान गरेको थियो। हिमालयनले भैरहवामा ३६ पटक अवतरण र उडान गरेको छ। जसबाट २०० जना भैरहवा अवतरण गरेका छन्। ४ हजार ६४१ जना भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका छन्। हिमालयनले पनि भैरहवामा निरन्तरता दिन सकेन।

    विभिन्न कम्पनीका विमानले भैरहवामा ३८ पटक चार्टड उडान गरेका छन्। चार्टड उडानबाट ३९ यात्रु अवतरण गरेका छन्। ४८ यात्रुले उडान भरेका विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले बताए। चार्टर अन्तर्गत अन्तर्राष्ट्रिय विमानहरु ल्याण्डीङ र पार्किङको लागि मात्र आउँदा यात्रुको संख्या कम भएको उनको भनाइ छ। भैरहवामा ल्याण्डीङ र पार्किङ निशुल्क छ। त्यसैले केही अन्तर्राष्ट्रिय विमानहरु पार्किङको लागि मात्र भैरहवा आउने गरेका छन्।