२०८१ आश्विन २१ गते, सोमबार ०७:१४
  • बजेट पर्खेका छौं, अन्तर्राष्ट्रिय उडानको वातावरण नबने सशक्त आन्दोलन


    सञ्जय बजिमय

    लामो प्रतिक्षापछि दुई वर्ष अघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भयो। नेपाल बायुसेवा निगमको जहाजले त्यस अघि नै भैरहवामा परिक्षण उडान गरेको थियो। उद्घाटनसँगै जजिरा एयरवेजले उडान सुरु गर्यो। अब भैरहवाबाट नियमित उडान होला भन्ने ठूलो आशा थियो। जजिराले एक वर्ष जति उडान गर्यो। विचमा हिमालयन एयरलाइन्स आयो भैरहवाबाट मलेसिया ३ महिना चल्दा ३४ वटा उडान गरेको थियो। जाडो महिनामा भिजिटिलीटीको समस्या आयो र बन्द भयो। त्यसपछि नियमित गर्न केही छुट सुविधा मागेको थियो। छुट सुविधा र सेल्फ ग्राउण्ड हेण्डलिङ नपाएकाले घाटामा जाने भन्दै हिमालयनले उडान बन्द गर्यो। पछि जजिराले पनि उडान बन्द गर्यो।

    भैरहवाबाट उडान हुन छोडेपछि हाम्रो आशा निराशामा बदलिन थाल्यो। नियमित उडानको माग गर्दै भैरहवामा सडक आन्दोलन गर्यौं। विमानस्थल अगाडि धर्ना बस्यौं। काठमाडौँ गएर सरकारसँग वार्ता गर्यौं। हामीले प्रधानमन्त्री, पर्यटनमन्त्री, अर्थमन्त्रीसँग भैरहवा आउने विमानको लागि विभिन्न छुटका प्याकेज ल्याउन भनेका छौं। छुटका कुराहरु बजेटबाटै आउनुपर्छ भनेर हामीले माग गरेका छौं। अब हामीले बजेटसम्म पर्खन्छौं। छुट प्याकेज र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको वातावरण भएन भने हामीले आन्दोलन र संघर्षका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने हुन्छ। त्यसपछिको आन्दोनल अझ सशक्त खालको हुन्छ। अहिलेलाई हाम्रा मागहरुको प्याकेजमा सम्बोधन हुन्छ भनेर आशावादी छौं र बजेटलाई पर्खिरहेका छौं।