२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाइने

    देवदह – देवदहमा उत्सवमय रुपमा २५६८ औं बुद्धजयन्ती मनाइने भएको छ। लुम्बिनी विकास कोष सहित देवदहमा रहेका विभिन्न बुद्धसँग सम्बन्धित संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरेर बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाउने भएका हुन्।

    लुम्बिनी विकास कोषद्धारा गठित रामग्राम देवदह समन्वय उपसमितिको देवदहमा बसेको बैठकले सरसफाई, नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, यशोधरा उत्सव एंव दीप्रज्वलन गर्ने निर्णय गरेको हो। बौद्धसंघसंस्थाहरु सहितको बैठकले देवदहमा बुद्धजयन्तीलाई उत्सवमय बनाउने निर्णय गरिएको कोषका कोषाध्यक्ष एंव उपसमितिका संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिए।

    जेठ ८ गते विहान ७ बजे देवदहका बुद्धसँग जोडिएका क्षेत्रहरुमा सरसफाई, विहान ११ बजेदेखि नगरस्तरीय बुद्धमावली र देवदह बिषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरिएको उनले बताए। बुद्धको मावलीका रुपमा चिनिएको देवदहमा बुद्धजयन्तीका दिन बौद्ध स्थल र घरघरमा दीप प्रज्वलन गर्ने समेत निर्णय भएको कोषाध्यक्ष भट्टराईले बताए।

    यस्तै जेठ ९ गते देवदह नगरपालिका, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका संस्थाहरुसँग सहकार्यमा देवदहमा बुद्धजयन्ती समारोहमा सहकार्य र सहभागी हुने एवं जेठ १० गते लुम्बिनीमा हुने मूल समारोहमा देवदहबाट प्रतिनिधित्व गर्ने निर्णय भएको लुम्बिनी विकास कोष देवदह सम्पर्क कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए।

    बैठकमा लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, देवदह नगरपालिका वडा न। ८ का वडाअध्यक्ष हरि पाण्डे, देवदह धर्मोदय सभाका अध्यक्ष टेकबहादुर थापा लगायतको सहमागीता रहेको थियो।