२०८१ आश्विन २१ गते, सोमबार ०९:१३
  • बिम्सटेकका महासचिव र भारतीय राजदुतलाई प्रधानमन्त्रीको आग्रह : तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृतका लागि सहयोग गर्नुहोस्


    लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपिलबस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतको लागि कुटनैतिज्ञहरुसँग आग्रह गरेका छन्। लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा उनले विशेष गरि विमेष्टेकका महासचिव र भारतीय राजदुतलाई सहयोगको लागि आग्रह गरे।

    ‘तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न मनोनयन दस्तावेज नेपाल सरकारको तर्फबाट युनेस्को विश्व सम्पदा केन्द्रमा औपचारिक रुपमा दर्ता गरिसकिएको छ।’ उनले भने ‘यसको लागि म महामहिम राजदुतहरु खासगरि विमेष्टेकका महासचिवज्यु र भारतका महामहिम राजदुत लगायत सबैलाई आवश्यक सहयोग र समन्वयका निम्ती हार्दिक आग्रह गर्दछु।’ समारोहमा विमस्टेकका महासचिव इन्द्रमणी पाण्डे र भारतीय राजदुत नविन श्रीवास्ताव लगायत विभिन्न देशका राजदुतहरु थिए। महासचिव पाण्डे पनि भारतीय नागरिक हुन्।तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्ने अन्तिम निर्णय निर्णय विश्व सम्पदा केन्द्रको ४७ औं महासभाले गर्ने छ।

    तिलौराकोट सन् १९९६ देखि सम्भावित विश्व सम्पदा सूचिमा रहेको छ। विश्व सम्पदा सूचीमा सूचिकृत गर्न केही महिना अघि नेपाल सरकारको तर्फबाट युनेस्कोमा औपचारिक रुपमा दर्ता भएको छ। प्रधानमन्त्रीले यो अभियानमा सहयोग गर्न स्थानियबासी र सरोकारवालासँग समेत आग्रह गरे। प्रचण्डले अन्तर्राष्ट्रिय दातृ राष्ट्र र संघसंस्थाहरुबाट समेत सहयोग तथा सहभागीतामा कपिलबस्तु, देवदह तथा रामग्रामको पुरातात्वीक उत्खनन् संरक्षण प्रवद्र्धन तथा विकासको कार्य भइरहेको उल्लेख गरे। यसबाट स्थानिय बासीलाई विकासको नयाँ प्रतिफल प्राप्त हुने प्रधानमन्त्रीको दाबी छ।