२०८१ आश्विन २१ गते, सोमबार ०७:१२
  • बेल्जियममा तेश्रो नेपाली फुड फेस्टिभल हुँदै


    ब्रसेल्स- बेल्जियमको लुभेन शहरमा तेश्रो नेपाली फुड फेस्टिभल हुने भएको छ। नेपाली ब्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार मे २५ तारिख नेपाली फुड फेस्टिभल हुन लागेको हो। फेस्टिभलमा नेपाललाई माया गर्ने बेल्जियम र बेल्जियम वरपरका देशहरुबाट समेत युरोपेलीहरुको सहभागिता रहने छ।

    युरोपमा नेपाली खाना, कला र संस्कृतिको प्रचार प्रसार गरि नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले फुड फेस्टीवल गरिएको कार्यक्रम संयोजक काशी दनैले जानकारी दिए। फेस्टिभलमा बिगतमा जस्तै यो पटक पनि उत्साहजनक सहभागिता हुने उनले आशा व्यक्त गरे।

    फेस्टिभलमा हिमाल, पहाड, तराईमा प्रचलित र लोकप्रिय खानाका परिकार, नेपाली संस्कृति झल्कने झाँकी, पञ्चेबाजा लगायतका लोकसंगीत र लोकनृत्य प्रस्तुत गरिनेछ। साथै सुपथ मूल्यमा विभिन्न नेपाली खानाको स्वाद लिन पाईने र नेपाली हस्तकलाको प्रबर्द्धन गर्न १४ वटा स्टलको ब्यवस्था गरिएको छ। यो पटक नेपाली ब्यवसायी संघ बेल्जियमले इनास बेल्जियमसंगको सहकार्यमा नेपाली कलाकारहरुको प्रस्तुती देखाईने ब्यवसायी संघका अध्यक्ष चिरण कुमार खवासले जानकारी दिए। कार्यक्रममा उपस्थित हुने आगन्तुकहरुलाई लक्की ड्र बाट एक जनालाई नेपाल भ्रमणको लागि आउने जाने हवाई टिकटको ब्यबस्था पनि गरिएको छ।

    यो कार्यक्रमले नेपालको खाना, कला संस्कृति प्रवर्द्धन गर्ने र नेपालको पर्यटन प्रबर्द्धन लगायत जनस्तरको सम्बन्ध बिस्तार गर्न सहयोग बताइएको छ। नेपाली ब्यवसायी संघले नेपाली दूतावासको संयोजकत्वमा आयोजना गरिएको यस कार्यक्रमबाट युरोपमा नेपाली बस्तु र संस्कृतीलाई अधिकतम रुपमा चिनाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ।

    पहिलो नेपाली फुड फेस्टिभल २०१९ र दोश्रो २०२३ मा सम्पन्न गरिएको थियो। बेल्जियममा रहेका पाँच सय बढी नेपाली ब्यवसायीहरुको ब्यबसायिक एकता र बिकासका लागि काम गर्दै आईरहेको नेपाली ब्यबसायी संघ बेल्जियम सन् २००६ मा स्थापना भएको हो।