२०८१ आश्विन २१ गते, सोमबार ०७:०२
  • पोर्चुगलमा भव्यताका साथ मनाइयो बुद्धजयन्ती, राजधानी लिस्बनमा शोभा यात्रा

    भरत प्रधान

    लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं जन्मजयन्ती पोर्चुगलमा भव्यताका साथ मनाइएको छ। लिस्वन स्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको आयोजना तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका साथै यहां क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा बिहीबार बुद्धजयन्ती मनाइएको हो।

    राजधानी लिस्बनमा गौतम बुद्धको विशेष पूजाआराधनाका साथै बृहत् शोभायात्रा निकालिएको थियो। रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको बाक्लो सहभागिता रहेको थियो।

    बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा, सांस्कृतिक वेषभूषा र बाजागाजा सहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए। शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो। सो अवसरमा नेपालको पर्यटन प्रबृद्र्धन गर्ने तथा बुद्ध सम्बन्धी जानकरी दिने अँग्रेजी र पोर्चुगिज भाषामा लिखित नेपालको धार्मिक पर्यटन र बुद्ध सम्बन्धी जानकारीमूलक पर्चा समेत वितरण गरिएको थियो।

    शोभायात्रापछि मार्तिम मुनिज पार्कमा आयोजित कोणसभामा पोर्चुगिज बौद्ध धर्मगुरु गिर्मे लामा र नेपाली लामा फुरीले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिएका थिए। कोणसभामा नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर, महावाणिज्यदूतावासका कार्यालय प्रमुख छविलाल बगालेलगायतले बोल्दै बुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए। यसअघि नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको संयोजनमा मार्तिम मुनिज पार्कमा पोर्चुगिज तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजाआरधनासमेत गरिएको थियो।

    विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि भव्यताका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूतावासले जनाएको छ। र्‍यालीमार्फत भगवान् गौतम बुद्ध र बुद्ध जन्मस्थलको प्रचारप्रसार गरिएको तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशसमेत प्रवाहित गरिएको बताइएको छ।