२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • एकै सिजनमा तेस्रो पटक सगरमाथा चढेर पूर्णिमा श्रेष्ठले किर्तिमान बनाइन्

    काठमाडौँ- एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर पूर्णिमा श्रेष्ठले विश्व किर्तिमान कायम गरेकी छन्। शनिबार बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन्। आरोही श्रेष्ठले बिहान ५ : ५० बजे सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए।

    फोटो पत्रकार समेत रहेकी श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी छन्। यो सहित उनको सगरमाथा आरोहण चौथो पटक हो। यही सिजनमा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छन्। विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन्।