समस्या र सुझाब संकलनको लागि ९ सदस्यीय समिति
लुम्बिनी स्थानियहरुको गुनासो आइरहेपछि लुम्बिनी विकास कोषले छलफल थालेको छ । कोषले स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत विहिबार समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ। कार्यशालामा स्थानीय समुदायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको र बाहिर वेवास्ता गरिएको गुनासो गरेका थिए। त्यस्तै लुम्बिनीको विकासमा आँफूहरुसँग समन्वय र सहकार्य नभएको उनीहरुले बताएका थिए।
कार्यशालामा सहभागीहरुले विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरु राखिएको थियो। बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उदेश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ। सो अवसरमा कोष र स्थानीय समुदाय आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुनपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए। लुम्बिनी विकास कोषसँग स्थानीयहरुविच संवाद र छलफल नहुँदा कतिपय बिषयमा एकमत हुन नसकेको भन्दै उनले त्यसलाई चिर्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनीको विकासका लागि स्थानीय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखा परेको बताईन। उनले कोषबाट स्थानीयहरुलाई लाभसँगै साथमै लिएर हिड्ने गरी योजना अगाढि बढाउनुपर्ने उल्लेख गरिन्। लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा. डा. सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफुहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयहरुको समस्यामा आफुहरु संवेदनशिल रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने दाबी गरे। उनले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयहरुसँग छलफल गर्न थालिएको बताए।
कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, सन्तोषी पाण्ड्य घसंस्थाका प्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुले विभिन्न सुझावहरु राखेका थिए। कार्यशालाले स्थानीयहरुको समस्या र सुझाव सहितको प्रतिवेदन तयार पार्नका लागि सुदीप अर्यालको संयोजकत्वमा ९ सदस्यीय समूह गठन गरेको छ।
सदस्यहरुमा प्रभात सापकोटा, बलबहादुर आचार्य, गंगाराम कहार, रामविकास चौधरी, पुरुषोत्तम अर्याल, सन्तोष गिरी, बब्लु गुप्ता र कमलेश वर्मा रहेका छन्। समूहले स्थानीयहरुको समस्या पहिचान गरेपछि अर्को चरणमा फेरी गोष्ठि गरेर कार्ययोजना तयार पारिने कोषले जनाएको छ।