२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • एक वर्षमा २ लाख १० हजारले चढे लुम्बिनी केबलकार

    बुटवल -एक वर्षको अवधिमा २ लाख १० हजारले लुम्बिनी केबलकारको यात्रा गरेका छन् । गतवर्ष जेठ १५ देखि बुटवलमा केबलकार सञ्चालनमा आएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन भने पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुर डांडामा छ ।

    एक वर्ष अघिसम्म सुनसान रहने बसन्तपुर डांँडा केबलकार सञ्चालन भएपछि केही चहलपहल भएको छ । स्थानीय समेतको साझेदारीमा कूल ५ अर्बको परियोजनामा केबलकार निर्माणको सुरुवात गरिएको हो । हालसम्म डेढ अर्ब लगानी भएको अरु पूर्वाधारहरु बन्ने कम्पनीले जनाएको छ। सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटकको रहेको उनले बताए।

    एक वर्षमा १३ करोड ५० लाख रुपैयांको टिकट विक्रि भएको कम्पनीले जानकारी गराएको छ। प्रत्येक टिकट शुल्कको एक–एक प्रतिसतका दरले लुम्बिनी केबलबारले बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउंपालिकालाई स्थानिय कर वापतको रकम तिर्ने गरेको छ। जस अनुसार २०८० जेठ १५ देखि गत बैशाख ३१ सम्म दुबै पालिकालाई ११ लाख २८ हजार रुपैयांका दरले २२ लाख ५६ हजार रुपैयां करको रुपमा गएको छ।

    २.६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाईमा रहेको छ । बसन्तपुरमा कामाख्या देवीको कलात्मक मन्दिर र सय वर्ष अघिदेखि पुजा हुंदै आएको स्थानीय दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेको छ । अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए।