२०८१ आश्विन २१ गते, सोमबार ०७:१३
  • पर्यटन क्षेत्रको अनावस्यक भ्याट र कर हटाइन्छ : पर्यटन मन्त्री

    काठमाडौँ -संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा ) को ५७ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि करको समस्याबारे सम्बोधन हुने उल्लेख गरे।

    मन्त्री तामाङले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पुर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाईएको बताए। उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने योजना बनाएको जानकारी दिए। तामाङले काठमाण्डौँ उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारले पुर्वाधार तयार पार्ने र निजी क्षेत्रसँग मिलेर लगानी गर्ने गरी इको हिल स्टेसनको योजना अघि बढाइने जानकारी दिए। ‘हाम्रो हवाई तथा भु यातायात सहज छैन पर्यटकहरुका लागि, त्यसैले यो पुर्वाधार सुधार गर्ने तिर सरकारले सोचिरहेको छ।’ उनले भने ‘जनकपुर, पशुपति, लुम्विनी जस्ता स्थलहरुलाई भारत, चीन जस्ता ठूलो जनसंख्या भएका पर्यटकलाई भित्र्याउने र हाम्रो सेवालाई पनि गुणस्तरीय बनाउने र पर्यटकको बसाई लम्ब्याउने हिशाबले पनि सोच्नु पर्छ ।’

    अरु देशमा जसरी पर्यटकहरुको आगमन नेपालमा हुन नसकेको भन्दै मन्त्री तामाङले यसको समिक्षा गरेर सबै पक्ष मिलेर विश्व पर्यटन बजारमा नयाँ गन्तव्यको खोजी र नयाँ पर्यटकीय उपज सहित प्रवद्र्धनमा जुट्नु पर्नेमा जोड दिए।