२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • अफसिजनमा पनि किन बढे लुम्बिनीमा भारतीय पर्यटक ?

    मे महिनामा मात्र ४० हजार आए

    लुम्बिनी – गर्मी याम लुम्बिनीको पर्यटनमा अफ सिजन हो। बैशाखदेखी असोजसम्म अत्याधिक गर्मी र बर्षाको कारण पर्यटक आगमन घट्ने गर्दछ। तर पछिल्लो समय लुम्बिनीमा भारतीय पर्यटकको चहलपहल ह्वात्तै बढेको छ। गत मे महिनामा मात्र ४० हजार १० भारतीय लुम्बिनी आएका छन्।

    त्यस अघि अप्रिल महिनामा १७ हजार २२ भारतीय आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ। २०२४ को ५ महिना मध्ये मे महिनामा सबै भन्दा बढि भारतीय आएका हुन्। यस अघि डिसेम्बर महिनामा अहिलेको भन्दा केही बढि ४० हजार ८०२ भारतीय लुम्बिनी आएका थिए। अघिल्लो वर्ष सन २०२३ को मे महिनामा २७ हजार १६७ भारतीय आएका थिए। कोभिड अगाडि २०१९ को मे महिनामा २३ हजार ३७७ जना भारतीय लुम्बिनी आएका कोषको तथ्यांकमा उल्लेख छ। जुन महिनाको सुरुवातमा पनि लुम्बिनीमा भारतीयहरुको चहलपहल राम्रै छ।

    यतीबेला भारतीयहरु विशेष गरि गर्मी छल्न नेपाल आउने गर्दछन्। यो बेला उनीहरु पाल्पा, पोखरा, मुक्तीनाथ लगायतका पहाडी गन्तव्यमा भ्रमण गर्न रुचाउँछन्। गर्मी छल्न हिल स्टेसनहरुमा पुग्ने क्रममा बाटोमा परेको बुद्ध जन्मस्थल पनि टेक्ने गरेको होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बताए। ‘पाल्पा, पोखरा, काठमाडौँ जान आएका पर्यटकहरु बाटोको हिसाबले लुम्बिनी पनि पसेर जाने गर्दछन्।’ उनले भने ‘त्यसैले भारतीय पर्यटकहरु लुम्बिनीमा केही देखिएका छन्।’

    त्यसरी आउने भारतीय पर्यटकहरु कमै मात्र लुम्बिनीमा रात विताउने गरेको ज्ञवालीको भनाइ छ। ‘आएका मध्ये २० प्रतिसत जति बस्ने हुन्। रेष्टुरेन्टहरुको व्यवसाय चाँही केही देखिएको छ।’ उनले भने।

    लुम्बिनीमा आन्तरिक र तेस्रो मुलुकका पर्यटक आगमन अझै कोभिड अघिको लयमा पुग्न सकेको छैन। तर भारतीय पर्यटकहरु भने कोभिड अघि भन्दा बढेका छन्। २ वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको भ्रमण, डेढ वर्ष अघि मोरारी बापुको कार्यक्रम लगायतका कारण भारतीयहरु लुम्बिनी प्रति आकर्षित भएको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राइले बताए। ‘प्रधानमन्त्री मोदी र मोरारीबापु आएपछि लुम्बिनीको राम्रो प्रचार भयो।’ उनले भने ‘अर्को कुरा संसारका धेरै देशमा आर्थिक मन्दीको प्रभाव पर्यो। तर भारतको अर्थतन्त्र राम्रो हुँदै गयो। त्यहाँ ७.५ जिडिपी छ, अर्थतन्त्र राम्रो भएपछि घुम्नेहरु पनि स्वभाविक रुपमा बढ्छन्।’

    बुद्ध जयन्ती परेकाले गत मे महिनामा नेपाल भित्रैबाट लुम्बिनी घुम्न आउनेहरु पनि बढेका छन्। गत महिना मात्र ८६ हजार ८६६ जना आन्तरिक पर्यटक आएका छन्। बुद्ध जयन्तीको दिन मे २३ अर्थात जेठ १० गते मात्र ५४ हजार २३१ जना आन्तरिक पर्यटक लुम्बिनी आएको कोषले जनाएको छ। ग्त अप्रिलमा ६६ हजार ८ सय पर्यटक लुम्बिनी आएका थिए।

    अध्याधिक गर्मीका कारण तेस्रो मुलुकका पर्यटक घटेका छन्। भारत बाहेक तेस्रो मुलुकबाट २ हजार ९२८ पर्यटक मात्र लुम्बिनी आएका छन्। त्यस अघि अप्रिल महिनामा ५ हजार ७२७ र मार्चमा १८ हजार २६ पर्यटक लुम्बिनी आएका थिए। अघिल्लो वर्ष मे महिनाको तुलनामा भने बढेका छन्। २०२३ को मे महिनामा १ हजार ६६५ विदेशी पर्यटक लुम्बिनी आएका थिए।