२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि ४ अर्ब बजेट


    भैरहवा -गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतीको लागि ४ अर्ब बजेट विनियोजन भएको छ। अन्तर्राष्ट्रिय विमानस्थललाई थप व्यवस्थित बनाउन ठेक्का सम्झौता भइ काम भइरहेको छ। थप संरचना निर्माण कार्यको लागि विनियोजित बजेटबाट क्रमागत रुपमा आन्तरिक उडान तर्फका जहाजको पार्किङ स्थल विस्तार गर्ने, समानान्तर ट्याक्सी वे को स्तरोन्नती हुने छ।

    विमानस्थलमा अहिले आन्तरिक उडान तर्फका चार वटा एटिआर जहाज मात्र पार्किङ गर्न मिल्छ। त्यसलाई विस्तार गरेर १० वटा जहाज पार्किङ गर्न मिल्ने गरि स्तारोन्नती गरिने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तर्फको बजेट पुस्तीकामा उल्लेख छ।

    त्यसै गरि धावन मार्गको समानान्तर ट्याक्सी वे पनि बढाउन लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रमुराम थापाले जानकारी दिए। ‘पहिला भैरहवा विमानस्थलमा १५ सय मिटरको रन वे थियो। पुरानो रन वे मा पुर्व र पश्चिम दुई दुई सय मिटर थप भइ अहिले १९ सय मिटरको समानान्तर ट्याक्सी वे को रुपमा प्रयोग भएको छ।’ उनले भने ‘अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल भएपछि नयाँ धावन मार्ग ३ हजार मिटर छ। अहिलेको रन वे अनुसार ट्याक्सी वे पनि विस्तार गर्नुपर्छ।’

    त्यसै गरि आन्तरिक तर्फको कार पार्किङ क्षेत्रको स्तरोन्नती, भित्री पेरिमिटर सडकको स्तरोन्नती, कार्गो एक्सेस रोड निर्माण र विद्युतीय कामहरु हुने छन्। दोस्रो चरण अन्तर्गतका यी कामहरु २०२६ सम्म सक्नु पर्ने म्याद छ।