२०८१ आश्विन २१ गते, सोमबार ०७:०१
  • बेलहिया–लुम्बिनी छैन सिधा सार्वजनिक यातायात

    २६ किलोमिटर यात्रा गर्न दुई वटा बस चढ्नुपर्ने

    सुदीप भण्डारी

    भैरहवा – स्थलमार्गबाट नेपाल आउने पर्यटक मध्ये ८० प्रतिसत रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिन्छन्। सन २०२४ यताको ५ महिनामा ४३ हजार ६३६ पर्यटक बेलहिया हुँदै आएका छन्। सन् २०२३ मा कुल ८१ हजार ५५१ पर्यटक यही नाका भएर प्रवेश गरेका थिए।

    बेलहिया हुँदै आउने धेरै जसो पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी पुग्ने गर्दछन्। तर सार्वजनिक यातायातमा लुम्बिनी पुग्न सहज छैन। २६ किलोमिटरको यात्राको लागि कि महंगो भाडा तिरेर ट्याक्सीमा जानुपर्छ अथवा दुई वटा बस चढ्ने दुख बेहोर्नुपर्छ।
    बेलहियामा माइक्रो बस चढेर ५ किलोमिटर यात्रा गरी भैरहवाको बुद्ध चोकमा पुगिन्छ। बुद्धचोकमा भरेर अर्को बस चढ्न आधा किलोमिटर पैदल हिड्नुपर्छ। त्यसपछि मात्र लुम्बिनी जानको लागि बस चढ्ने ठाउँमा पुगिन्छ। यो रुटमा चल्ने बस पनि पुराना र अव्यवस्थित भएकाले पनि यात्रामा झन्झट बेहोर्नुपर्छ।

    बेलहियाबाट लुम्बिनी सिधा बस सञ्चालन गरि पर्यटकलाई सुविधा दिन न त सरकारी निकायले पहल गरेको छ न बस व्यवसायीहरुले नै चासो दिएका छन्। सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का अध्यक्ष सञ्जिव रोक्काले नगरपालिकाको पुरानो नियम अनुसार भैरहवा बसपार्कबाट नै गाडी छोड्नुपर्ने हुँदा बेलहिया लुम्बिनी बस सञ्चालन नगरिएको बताए। बेलहियाबाट लुम्बिनीका बस सञ्चालन आवश्यक नभएको समेत रोक्काको तर्क छ। ‘नगरपालिकाले बसपार्कलाई जिरो प्वाइन्ट मानेको हुनाले हामीले त्यही अनुसार बस चलाएको हो। सिमानाकाबाटै बस हुनुपर्छ भन्ने जरुरी छैन।’ उनले भने ‘मान्छे ओर्लेर हिडेर अर्को गाडी चढे भने शहरमा पनि त चहलपहल हुन्छ। त्यसैले अहिलेको अवस्था ठीकै हो जस्तो लाग्छ।’ तत्काल बेलहिया लुम्बिनी बस सञ्चालन गर्ने कुनै योजना नभएको र नगरपालिकाले भनेमा आफूहरुले मान्ने प्रालिका अध्यक्ष रोक्काले बताए।

    बेलहियामा रहेको बसपार्कबाट प्रत्येक ५ मिनेटमा भैरहवाको बुद्ध चोकको लागि गाडी छुट्ने गर्दछ। त्यस्तै केही बस बेलहियाबाट बुटवलका लागि पनि सञ्चालन हुने गर्दछन्। तर लुम्बिनी घुम्न जानेले भने दुख पाउनैपर्छ। पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकहरुको आगमन बढ्दो छ।

    यो बेला बेलहिया–लुम्बिनी सिधा बस सञ्चालन गर्दा पर्यटकलाई निकै सुविधा हुन्छ। अर्को तर्फ निर्वाध रुपमा भारतीय गाडीको आउने क्रम कम हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका पर्यटन समिति प्रमुख श्रीप्रसाद भट्टराईको भनाइ छ। अहिले भारतीय पर्यटकहरुको आगमन बढेको छ। यातायातको उचित व्यवस्था नहुँदा पर्यटकका साथै निर्वाध रुपमा भारतीय गाडी आइरहेका छन्।’ उनले भने ‘हाम्रो तर्फको यातायात सहज बनायौं र बेलहियाबाट लुम्बिनी बस सञ्चालन भएमा भारतीय गाडी आउन कम हुन्छ। यसबाट नेपाली पक्षलाई नै फाइदा हुन्छ। छिमेकी मुलुकबाट विद्यार्थीहरु सँगै निम्न बर्गकाहरु पनि लुम्बिनी घुम्न गर्दछन्। उनीहरुको लागि पनि यात्रा सजिलो बनाउनुपर्ने भट्टराइको भनाई छ।

    भारतमा रोजगारी गर्ने नेपालीहरु धेरै जसो बेलाहिया नाका हुँदै घर फर्कने गर्दछन्। सिधा सार्वजनिक यातायात सञ्चालन हुँदा घर फर्कदै गरेकाहरुमा पनि लुम्बिनी घुम्ने चाहाना बढ्छ।

    बेलहियाबाट सिधा बस सञ्चालन हुँदा बुद्ध जन्मस्थल लुम्बिनीको थप प्रचार प्रसार हुने र पर्यटक आगमन पनि बढ्ने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए। ‘पर्यटकलाई थोरै असुविधा हुँदा पनि नराम्रो सन्देश जान्छ। बेलहियाबाट लुम्बिनीसम्म सिधा बस चल्यो भने पर्यटकलाई दुख पनि हुँदैन र लुम्बिनी प्रति राम्रो सन्देश जान्छ।’ उनले भने ‘लुम्बिनीकै लागि भनेर बेलहियाबाट बस छुट्दा बुद्धजन्मस्थलको थप प्रचार प्रसार पनि हुन्छ। नेपाल भित्रिएकाहरुमा लुम्बिनी घुमेर जाउँ भन्ने मानसिकता बन्छ।’

    लुम्बिनीमा विद्युतीय गाडी बर्षौंदेखी अलपत्र अवस्थामा छन्। ती विद्युतीय गाडीलाई नवलपरासी, कपिलबस्तुका बुद्धस्थल सहित बेलायहयासम्म सञ्चालन गर्दा उपयुक्त हुन्छ। त्यसो हुन नसके अरु कम्पनीका सुविधायुक्त र पर्यटन मैत्री बस बेलहियाबाट लुम्बिनी सञ्चालन हुनुपर्ने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको भनाइ छ।