२०८१ आश्विन २१ गते, सोमबार ०७:०४
  • नरपानी रिसोर्टमा भारतीय पर्यटकको ओइरो, एकैदिन ५० बढि कोठाका पाहुना फर्काउनुपर्‍यो

    अर्घाखाँची-बैशाख यता अर्घाखाँचीको नरपानी क्षेत्रमा चहलपहल बढेको छ। भारतीय पर्यटकहरु गर्मी छल्न नरपानी आउने गरेका छन्। यहाँ रहेको नरपानी सुपादेउराली रिसोर्ट भारतीयहरुको मुख्य रोजाई बन्ने गरेको छ। अर्घाखाँचीको सुपादेउराली मन्दिरबाट केही पर उचाइमा रिसोर्ट रहेको छ। नरपानी रिसोर्ट आँफैमा आकर्षक छ। साथै यहाँबाट हिमाली दृष्यहरु अवलोकन गर्न सकिने र गर्मीमा निकै सित्तल भएकाले पनि भारतीय पर्यटकहरुको रोजाइमा परेको हो।

    मे र जुन महिनामा भारतबाट अध्याधिक पर्यटक आएका छन्। नरपानी रिसोर्टमा आएका पाहुना मध्ये ८५ प्रतिसत भारतीय पर्यटक छन्। विशेष गरि शुक्रबार, शनिवार र आइतबार पाहुनाहरुको अत्याधिक चाप हुने र धेरैलाई फर्काउन परेको नरपानी रिसोर्टका प्रबन्ध निर्देशक जिबलाल पौडेलले बताए। ‘अहिले सबैको मुखमा नरपानी रिसोर्ट भन्ने छ। अर्घाखाँची आएका पर्यटकहरु बस्नको लागि सुरुमा यही आउनुहुन्छ। बाहिर गार्डेन अथवा हलमा भएपनि सुत्छम हामीलाई राख्नपर्यो भन्नुहुन्छ।’ उनले भने ‘हामीले त्यसरी राख्ने कुरा भएन, अरु होटलहरुमा पठाउने गरेका छौं।’ हप्ताको ३ दिन त ठाउँ नभएर ५० देखी ६० कोठाका पाहुनालाई अन्यत्र होटलमा पठाउनु परिरहेको पौडेलको भनाइ छ।

    यही असारको २ गते नम्बर प्लेटमा युपी लेखेका चार सय भारतीय गाडी नरपानी रिसोर्टमा आएका थिए। केही गेट भित्र र केही गेट बाहिर पार्किङ्ग गरेका थिए। ‘हामीले सबैलाई खाना खुवाउन समेत सकेनौ। उहाँहरु आउनुभयो, हेर्नुभयो, फोटा खिच्नुभयो जानुभयो।’ पौडेलले भने। नरपानी सुपादेउराली रिसोर्टमा कोठा पाउन एक हप्ता अगाडि नै बुकिङ गर्नुपर्छ। भारतबाटै क्युआर कोड माग्नुहुन्छ। उतैबाट अग्रिम पैसा बुझाएर कोेठा बुक गर्नुहुन्छ।’ पौडेलले भने ‘एक जना त फोन उठाउनकै लागि मात्र खट्नुपर्छ।’

    भारतमा समर भ्याकेसनका कारण शैक्षिक संस्थाहरु पनि विदा हुने गर्दछन्। त्यसैले गर्मी छल्न नेपालका नजिकका पहाडी जिल्लामा भारतीय आउने गरेका छन्। नरपानी रिसोर्ट हावापानीको हिसाबले पनि राम्रो छ। पंखा र एसी कहिले चलाउन पर्दैन। राती कम्बल ओडेर सुत्नुपर्छ। पानी पर्यो भने एकदम चिसो हुन्छ। भारतीयहरु कुनै ठाउँ विशेष घुम्न भन्दा पनि चिसोमा रमाउन आउने गरेको छन्। अनुकुल मौसमकै कारण आएका पाहुनाहरु तीन चार दिनसम्म बस्ने गरेको पौडेलको भनाइ छ।

    तर रिसोर्टमा आएका पाहुनाहरुलाई आफूले पर्यटकीय गन्तव्यहरु चिनाउने र जान प्रेरित गर्ने प्रबन्ध निर्देशक पौडेलले बताए। ‘आएका पाहुनाहरु मध्ये सबै जसो सुपादेउराली पुग्नुहुन्छ। त्यसबाहेक नरपानी नजिको खाँचीकोट, सन्धीखर्क माथि अर्घा भगवती मन्दिरमा पनि हामीले जान भन्छौं। उनले भने। यो वर्ष अर्घाखाँचीको सदरमुकाम सन्धीखर्क बजारमा पनि यो वर्ष पर्यटकीय चहलपहल बढेको छ।

    बैशाख, जेठ र असार भारतीय पर्यटकहरुको मुख्य सिजन हो। अब बर्षा पछिका केही महिना भने रिसोर्टको सञ्चालन खर्च पनि उठ्न मुस्कील हुने रिसोर्टका प्रबन्ध निर्देशक पौडेलले बताए।

    नरपानी सुपादेउराली रिसोर्ट २०७५ सालबाट सञ्चालनमा आएको हो। रिसोर्टमा ५६ जना सेयर सदस्य र ९ जनाको सञ्चालक समिति छ। स्थापना भएको केही समयपछि रिसोर्टले कोभिडको सामना गर्नुपर्यो। कोभिड पछि भारतीय पर्यटकको चहलपहल बढ्दै गएको प्रबन्ध निर्देशक जिबलाल पौडेलले बताए। ‘कोभिड अघि आन्तरिक पाहुना धेरै थिए। विचमा साढे ३ वर्ष कोभिडले थला पार्यो। कोभिडको पछि भारतीय पाहुना बढेका छन्।’ उनले भने । गत वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटक ४० प्रतिसतले बढेको पौडेलको अनुमान छ।