२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानविन गर्न भट्टराइको संयोजकत्वमा संसदीय उपसमिति गठन

    भैरहवा – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न संसदीय उपसमिति गठन भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी छानबिन गर्न सांसद तथा एमाले सचिव योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको हो। भट्टराई पूर्व पर्यटनमन्त्री समेत हुन्।

    उपसमितिमा सांसदहरु अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी रहेका छन्। विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंका सहित समग्र पक्षको छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरिएको हो।

    अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनेर कसरी माग प्रस्ताव सुरु भयो भन्नेदेखि गुरुयोजना, लागत/ठेक्का, निर्माण हुँदै अहिलेसम्मको समग्र अवस्थालाई अध्ययन/छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न उपसमितिलाई कार्यादेश दिइएको लेखा समिति सभापति सभापति ऋषिकेश पोखरेलले बताए।

    यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी छानविन गर्न सांसद तथा राप्रपा अध्यक्ष राजेन्द्र राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय संसदीय उपसमिति गठन भएको छ। उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन्। दुबै उपसमितिलाई अधिकतम एक महिना भित्र प्रतिवेदन पेश गर्न समय दिइएको समिति सभापति ऋषिकेश पोखरेलले बताए।