२०८१ आश्विन २१ गते, सोमबार ०७:०४
  • पर्यटन प्रवर्द्धनको लागि अरु देशमा जाँदा बेलहिया नाकाको दुख सुनाउँछन्

    सरकारले चाहेमा एक महिनामै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छ


    चन्द्रप्रकाश श्रेष्ठ (सिपी)

    अहिले थुप्रै भारतीय पर्यटकहरु बेलहिया नाका हुँदै आइरहेका छन्। उनीहरु गर्मि छल्न पाल्पा अर्घाखाँचीको नरपानी लगायतका ठाउँमा गइरहेका छन् स्थलमार्गबाट जतिपनि पर्यटक आएका छन्, उनीहरुको यहाँ बसाइ छैन। भैरहवाका होटलमा बसोबास भनेको करिब २५ देखी ३० प्रतिसत छ। लुम्बिनीमा त्यो भन्दा पनि कम छ। स्टे नभएकाले व्यवसायीहरुको अवस्था दयनिय छ। कमाइ नभएको अवस्थामा व्यवसायीहरुले असार मसान्तसम्मको कर कसरी तिर्ने भन्ने समस्या छ।

    मुलुकलाई आर्थिक समृद्ध बनाउने पर्यटन नै हो। लुम्बिनी प्रदेशमा धेरै पर्यटकीय गन्तव्यहरु छन्। ति गन्तव्यहरुमा स्थलमार्ग मार्फत हामीले यदि पर्यटकहरुलाई ल्याउन सकेमा असंख्या पर्यटक आउँछन् र यो क्षेत्रलाई समृद्ध बनाउन सक्छौं।
    पर्यटनको प्रवद्र्धन र विकासको लागि एउटा रोड कनेक्टीभिटी र अर्को एयर कनेक्टीभिटी राम्रो हुनुपर्छ। रोड कनेक्टीभिटीको कुरा गर्दा अहिले बेलहिया नाकाबाट आउने पर्यटकलाई निकै दुख छ। गाडीकोे सुविधा लिन २–२ घण्टा लाइनमा बस्नुपर्छ। अध्यागमन कार्यालयको अवस्था त्यस्तै विजोग छ।

    बेलहियाको ३ सय मिटर सडक पनि १० वर्षसम्म पनि बन्न सकेको छैन। किन हो हामीले बुझ्न सकेका छैनौं। बनाउन चाहाने हो भने त्यो १० दिनमा बन्ने बाटो हो। यसको गलत सन्देश गइरहेको छ। भारत, श्रीलंका, थाइल्याण्ड लगायतका देशमा हामी प्रचार प्रसार र पर्यटकीय गन्तव्यको जानकारी गराउन जान्छौं। उहाँहरुले हामीलाई बेलहिया नाकामा दुख पाएको कुरा सुनाउनुहुन्छ। भिसा लिन दुई चार घण्टा समय लाग्छ, सुविधा लिन गाह्रो छ, बाटो राम्रो छैन भन्ने कुरा गुनासो गर्नुहुन्छ। यो कुरा हामीले स्थानिय, प्रदेश र संघिय सरकारसम्म भनिरहेका छौं। समस्या जहाँको तहीँ छ।

    एयर कनेक्टीभिटीको कुरा गर्दा भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ। २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। २ वर्ष भन्दा बढि भइसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। सरकारले ४३ अर्ब लगानी गरेर बनाएको गौतमबुद्ध विमानस्थल आज चल्न नसकेको अवस्था छ। यसैलाई आधार मानेर निजी क्षेत्रले पनि ५० अर्ब लगानी गरेको छ। आज लगानी सबै डुब्ने अवस्थामा गएको छ। व्यवसायीहरुको दयनिय अवस्था छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन हामीले बारम्बार सरकारलाई आग्रह गरिरहेका छौं। सुरुमा जजिरा एयरवेजले केही महिना चलायो। पछि केही माग राखेर बन्द गर्यो। पछिल्लो पटक उसले सेक्युरिटी चार्ज, इन्धन, ग्राउण्ड हेण्डलिङमा छुट सुविधा गर हामी चलाउँछौं भनेको छ। सरकारले यी सुविधा दिएर भएपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गर्नुपर्छ।
    अहिले आइएलएसको सट्टा भू उपग्रह प्रविधिको एआरपी विमानस्थलमा राख्न सकिने कुरा आएको छ। यो राख्दा पनि आइएलएस जस्तै ८ सय मिटर भिजिलीटीमा पनि ल्याण्ड गर्न सक्छ। न्युन खर्चमा हुने भएकाले सरकारले छिटो भन्दा छिटो व्यवस्था गर्नुपर्छ।

    मुख्य चार कुरा गर्यो भने अन्तर्राष्ट्रिय विमानस्थल एक महिना भित्र सञ्चालनमा आउन सक्छ। धेरै नेपाली रोजगारीको लागि खाडी मुलुकमा गइरहेका छन्। त्यसको लागि श्रम इजाजत, भिसा यहीबाट दिने व्यवस्था मिलाउनपर्छ, स्वास्थ्य जाँच प्रमाणपत्र यहाँकै सरकारी अस्पतालबाट दिने व्यवस्था गर्नुपर्छ। म्यानपावर पनि यहाँ सञ्चालन हुनुपर्छ। त्यसो भयो भने खाडी मुलुकका उडान भैरहवाबाटै हुन्छ। नियमित उडान हुन थालेपछि बुद्धिष्ट मुलुकहरु जस्तो श्रीलंका, थाइल्याण्ड, भियतनाम, म्यानमार इण्डोनेसिया, चाइना लगायतका देशमा उडानको वातावरण बन्छ। ती देशमा एक अर्ब बढि बुद्धधर्मलम्बी छन्। ति देशमा अन्तर्राष्ट्रिय उडान गर्न सक्यो भने बर्षमा हामीले ५० लाख पर्यटक लुम्बिनीमा मात्र भित्राउन सक्छौं ल्याउन सक्छौं।

    हामीले लुम्बिनीलाई ब्राण्ड बनाएर चाइनामा गएर प्रचार प्रसार गर्ने गरेका छौं। त्यस्तै होटल एशोसिएन नेपालले चाइनामा कार्यक्रम गरेको छ। भरतबाट पनि पर्यटकहरु लुम्बिनी आउने क्रम बढेको छ। क्यासिनो, वाटरपार्कमा स्विमिङ गर्न पनि भारतीयहरु आउने गरेका छन्। कोभिडपछि विस्तारै भारतीय पर्यटकको आगमन बढ्दै गएको छ। अहिलेको अनुपातमा हेर्दा भारतबाट पर्यटक भोलीका दिनमा अझै बृद्धि हुन्छ भन्ने अनुमान गरेका छौं। त्यसैले उनीहरुलाई सहज वातावरण बनाउनुपर्यो। सडक, अन्तर्राष्ट्रिय उडान लगायतका काम सरकारले ध्यान दिनुपर्यो। आएका पर्यटकलाई सेवा सुविधा दिने काम हामी नीजि क्षेत्रले गर्ने छौं।

    (कुराकानीमा आधारित)