२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • ‘भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि कत्ती पनि ढिला नगरौं’

    भैरहवा– गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल नियमित सञ्चालन गर्न उद्योगी व्यवसायी तथा सरोकारवालाहरुले माग गरेका छन्। भैरहवा आएको संसदीय उपसमितीको टोली समक्ष उनीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि अब कत्ती पनि ढिला गर्न नहुने बताए। प्रतिनिधी सभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानविन तथा अनुगमन गर्न सांसद योगेश भट्टराईको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। आइतबार भैरहवा आएको संसदीय उपसमितिको टोलीले सोमबार व्यवसायी र सरोकारवालाहसँग अन्तरक्रिया गरेको हो।

    संसदीय उपसमितिका संयोजक योगेश भट्टराईले गौतम बुद्ध विमानस्थलको अवस्थाका बारेमा छलफल गर्न आफूहरु भैरहवा आएको सुनाए। ‘लेखा समिति र प्रतितिधि सभाको तर्फबाट यसलाई राष्ट्रिय विषय बनाउँ आवश्यक पर्दा अन्तर्राष्ट्रिय विषय पनि बनाउँ भन्ने उदेश्यले थप केही छलफल गर्न हामी यहाँ उपस्थित भएका हौं ।’ उनले भने। भैरहवाबाट छिटो अन्तर्राष्ट्रिय उडानको लागि सरकारलाई दबाब दिने उनले सुनाए। ‘लेखा समितिमा हामीले मन्त्रीदेखी सरकारी उच्च तहका अधिकारीहरुलाई पनि बोलाउँछौं,यदि नेपाल सरकारले हामीसँग सहयोग मागेमा केही देशका सरकार, त्यहाँका बायुसेवासँग, सम्बन्धीत निकायका पदाधिकारीसँग बसेर गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालनका पहल कदमी लिन्छौं।’

    कार्यक्रममा रुपन्देही- २ का सांसद तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले राम्रोसँग चल्नेमा कुनै दुविधा नभएको दाबी गरे । उनले निर्माणका बेला सञ्चालनको लागि पनि तयारी गर्नुपर्नेमा त्यसो नगर्दा केही समस्या भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अब निरन्तर पहल थाल्नुपर्ने भन्दै पौडेलले कहिले के गर्ने भन्ने बारे क्यालेण्डर बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
    रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि आफूले पटक पटक संसदमा कुरा उठाएको बताए । उनले संसदीय समितिको टोली नै आएपछि विमानस्थल चल्नेमा केही आशा पलाएको उल्लेख गरे।

    नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको वातावनरण नै नबनाएको गुनासो गरे। विदेश जानको लागि सामान्य स्वास्थ्य परिक्षणको व्यवस्था समेत रुपन्देहीमा नहुनु दुखद भएको उनको भनाइ छ। सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले संघियतामा पनि काठमाण्डौं केन्द्रित नीतिका कारण विमानस्थल चल्न नसकेको धारणा राखे। ‘यदि उपसमिति साँच्चिकै विमानस्थल चलाउनुपर्छ भन्ने उद्देश्यले आएको हो भने यहाँबाट विमान उडाउन आवश्यक नीतिगत निर्णय गर्नुस् ।’ उनले भने।

    सिद्धार्थ होटल एशोसियनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल निर्माणमा सरकारको ४० अर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको सुनेको भन्दै त्यसको दोब्बर ८० अर्ब रुपैयाँ नीजि क्षेत्रले होटल तथा रेष्टुरेन्टमा लगानी गरिसकेको बताए। अन्तर्राष्ट्रिय उडान सुरु गर्न काठमाडौं केन्द्रित म्यानपावर, ट्राभल एजेन्सी लगायतलाई विकेन्द्रित गरिनुपर्ने उनको भनाई छ।

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एशोसिएसन नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले गौतम बुद्ध विमानस्थल चल्छ भन्ने आशा गर्दा गर्दै २ वर्ष नाघेको बताइन्। विमानस्थलको आशामा अबौंको लगानी भएको भन्दै उनले लगानीको सुनिश्चितता भन्दा अनिश्चितता भएको भनाइ राखिन्।

    सोट्टो लुम्बिनीका निवर्तमान अध्यक्ष सञ्जय बजिमयले कम्तीमा नेपाल एयरलाइन्सले दुई तर्फी उडान सुरु गर्न आग्रह गरे। उनले भैरहवाबाट छिमेकी मुलुकमा मात्र उडान गर्न सके पनि विमानस्थललाई चलायमान गर्न सकिने धारणा राखे। कार्यक्रममा लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम आर्याल, पर्यटन व्यवसायी सागर अधिकारी लगायतले अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुनुपर्ने माग गरेका थिए।

    २०७१ माघ १ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि शिलान्यास भएको थियो। २०७९ जेठ २ गते उद्घाटनसँगै कुबेतको जजिरा एयरवेजले केही समय उडान गरेको थियो । तर अहिले अन्तर्राष्ट्रिय उडान ठप्प जस्तै छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्ने माग गर्दै रुपन्देहीका व्यवसायीहरु सडक आन्दोनलदेखी काठमाडौँ पुगेर समेत दबाब दिए। हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रति प्रतिनिधि सभाको लेखा समिति उपसमिति बनाएर अध्ययन सुरु गरेको छ । उपसमितिको आठ सदस्यीय टोलीले भैरहवा आएर छलफल गरेको हो।