२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • ६ महिनामा लुम्बिनीमा २ लाख बाह्य पर्यटक, कुन देशबाट कति ?

    लुम्बिनी -पछिल्लो ६ महिनाको अवधिमा २ लाख बढि बाहय पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्।
    सन २०२४ यता जुन महिनासम्म आन्तरिक बाहेक भारतीय र तेस्रो मुलुकका गरि २ लाख ४ हजार ६९४ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ।

    सबै भन्दा बढि भारतबाट १ लाख ५२ हजार ५२० जना लुम्बिनी घुम्न आएका छन्। सन २०२३ को यही अवधिसम्म १ लाख ३३ हजार १७९ भारतीय आएका थिए। जुन सम्मको तथ्यांकलाई आधार मान्दा कोभिड अघि भन्दा अहिले भारतीय पर्यटक ५० प्रतिसतले बढेका छन्। २०१९ को जुनसम्म १ लाख २ हजार ४५२ भारतीय लुम्बिनी आएको कोषको तथ्यांकमा उल्लेख छ। पछिल्लो समय भारतीय पर्यटक आगमनले रेकर्ड कायम गर्दै गएको छ।

    यस्तै २०२४ को ६ महिनामा भारत बाहेक अन्य तेस्रो मुलुकहरुबाट कुल ५२ हजार १७४ पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो वर्ष १२ हजार बढि विदेशी पर्यटक आएका हुन्। सन २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ राहदानी वाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन २०१९ को जुनसम्म ८३ हजार १५५ विदेशी पर्यटक लुम्बिनी आएका थिए। ५ वर्ष अघिको तुलनामा अहिले झण्डै ३१ हजार कम विदेशी पर्यटक लुम्बिनी आएका हुन्।

    पछिल्लो ६ महिनामा लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटक मध्ये सबै भन्दा बढि थाइल्याण्डबाट १२ हजार २४४ जना रहेका छन्। श्रीलंकाबाट ९ हजार २६५, म्यानमारबाट ७ हजार २९५, चिनबाट ६ हजार ७३४ पर्यटक लुम्बिनी आएका छन्। भियतनामबाट ३ हजार ८११, दक्षिण कोरियाबाट २ हजार ७२२ र जर्मनीबाट १ हजार ११९ पर्यटक ६ महिना यता लुम्बिनी आएका छन्। अन्य मुलुकको आगमन दर हजार भन्दा कम छ।

    लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन कोभिड अघि भन्दा निकै कम देखिएको छ। सन २०१९ को जुन सम्म ७ लाख ३३ हजार जना नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए। यो वर्षको ६ महिनामा जम्मा ३ लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्षको यही अवधी भन्दा अहिले ११ हजारले कम हो। सन २०२३ को जुनसम्म ३ लाख ५५ हजार ८५० नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए।