२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • पर्यटकको सहजताको लागि बेलहिया नाकामा एकिकृत चेकजाँच सेवा

    भैरहवा -रुपन्देहीको बेलहिया नाकामा पर्यटकको सहजताको लागि एकीकृत चेकजाँच सेवा शुरु भएको छ। जिल्ला प्रसासन कार्यालयको अगुवाईमा पर्यटक लक्षित एकीकृत चेकजाँच सेवा सुरु गरिएको हो।नेपाल–भारत सीमा नाका बेलहियामा नेपाल प्रहरी, ट्राफिक, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी राखेर एकै ठाउँमा सुरक्षा र अन्य सबै किसिमका चेक जाँच गर्ने गरी एकीकृत सेवा सुरु गरिएको हो।

    एकिकृत जाँच सेवाको सुभारम्भ गर्दै नेपाल सरकारका गृह सचिव एकनारायण अर्यालले प्रशासनको अगुवाईमा रुपन्देहीमा अनुकरणीय कामको थालनी भएको बताए। एकिकृत सेवाले पर्यटन क्षेत्रको बिकास र प्रबद्धन गर्न तथा पर्यटकको सहजताका लागि टेवा पु¥याउने उनको भनाइ छ। एकीकृच जाँच पछि अब जिल्लाका बिभिन्न ठाँउमा हुदै आएका चेकजाँचको झन्झट हट्ने छ भने पर्यटकलाई निकै सहज हुने बिश्वास लिईएको छ।

    भारतबाट आउने सवारी साधन र भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई लक्षित गरि एकीकृत जाँच शुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। ‘तेस्रो मुलुकका पर्यटकलाई अध्यागमन जानै पर्छ तर भारतीय पर्यटकलाई त्यहाँ जान पर्दैन। त्यसैले कुन–कुन निकायले के जाँच गर्नुपर्छ एकै ठाउँमा गर्छन्, त्यसपछि सवारी जिल्लाभर जाँच हुँदैन’, उनले भने। एकीकृत विन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड चालकलाई दिइने व्यवस्था गरिएको छ।

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बेलहियाबाट भित्रिने पर्यटक सिद्धार्थनगरका मात्रै नभएर सिंगो रुपन्देही र मुलुकका लागि नै भएको भन्दै सबैले पर्यटकीय भाव राखेर उनीहरुको स्वागत, सत्कार र अप्ठ्यारोमा सहयोग गर्नुपर्ने बताए।
    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहम्मद खाँले बेलहियाबाट सवारीसहित भित्रिने पर्यटकले दुःख पाउने गरेको धेरै गुनासा आइरहेको भन्दै पर्यटकको सेवा र सत्कारमा जुट्नु पर्ने बताए।

    नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रका लागि एकीकृत जाँच सेवाले हर्षित बनाएको बताए। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यसबाट पर्यटकको लागि सिमानाका सहज बन्ने धारणा राखे।