२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • क्यासिनोको जागिर खान नपाएका बद्रीलाई पर्यटन मन्त्रालय हाक्ने जिम्मा

    को हुन् नवनियुक्त पर्यटनमन्त्री पाण्डे ?

    बुटवल– २०४८ सालको आम निर्वाचन पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। सोही सरकारमा हालका कांग्रेस सभापति शेरवहादुर देउवा गृहमन्त्री थिए। देउवाले नेविसंघका कार्यकर्ता बद्री पाण्डेलाई कलेज पढ्दै गर्दा खर्च व्यवस्थापन गर्ने गरि क्यासिनोमा जागिर लगाइदिएका थिए। क्यासिनोको जागिरका लागि उनले चार दिन तालिम गरे।

    त्यही बेला नेपाल विद्यार्थी संघ बाल्मीकी विद्यापिठको क्याम्पस कमिटीको सचिव भए। राजनीतिमा व्यस्त हुन पर्ने भएपछि जागिर खान पाएनन्। त्यसबेला जागिर खान नपाएका बद्री पाण्डे क्यासिनो, होटल सहित मुलुककै पर्यटन क्षेत्रको नेतृत्व गर्ने संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सम्हालेका छन्।

    बाजुराको हिमाली गाउँपलिका वडा नम्बर ४ मा जन्मिएका बद्री पाण्डेले तत्कालीन शैलेश्वरी प्राविबाट विद्यार्थी जिवन सुरु गरे।
    विद्यालय जिवनको उत्तरार्धमा दाजुसँग काठमाडौँ आए। तीनधारास्थित संस्कृत मावि रानीपोखरीमा पढ्न थाले। त्यहीबाट एसएलसी गरे। काठमाडौँकै बाल्मीकी विद्यापिठबाट प्रवीणता प्रमाणपत्र र स्नातक गरे। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका छन्।

    पाण्डेको राजनीतिक यात्रा संस्कृत माविबाटै सुरु भएको हो। २०४३ मा नेविसंघमा आवद्ध भएका उनी २०४४ मा इकाइ सदस्य भए। २०४७ मा वाल्मिकी क्याम्पसमा इकाइ सदस्य, २०४९ मा इकाइ सचिवमा निर्वाचित भए। २०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भएका थिए। २०५३ मा वाल्मिकीको स्ववियु सभापति र २०५४ मा स्ववियु परिषदको सभापति बनेका थिए। पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य र २०५९ मा नेविसंघको उपाध्यक्ष बने।

    विद्यार्थी राजनीतिसँगै उनले सञ्चार क्षेत्रमा पनि काम गरेका छन्। नेविसंघ उपाध्यक्ष भएकै समयमा २०५९ सालमा पाण्डेले इमेज रेडियोमा काम गरे। इमेज रेडियोमा दुई वर्ष र इमेज टिभीमा ६ महिना काम गरे। २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रको कदमपछि उनले रेडियोमा कार्यक्रम चलाउन छाडे।

    २०६७ मा नेपाली कांग्रेसको महासमिति सदस्य बनेका बद्री पाण्डे सोही वर्ष पार्टीको १३ औं महाधिवेसनबाट कांग्रेस केन्द्रीय सदस्य भए। २०७० सालमा समानुपतिक तर्फबाट संविधान सभा सदस्य भइ संसदीय यात्रा सुरु गरे। २०७४ सालमा कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भए। २०७९ सालको चुनावमा बाजुरा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ३ पटक संसदीय अनुभव लिएका पाण्डे पहिलो पटक मन्त्री बनेका हुन्। अध्ययनशिल, प्रखर वक्ता र जुझारु नेताको रुपमा चिनिने उनी आशा गरिएका नेतामा पर्दछन्।

    नवनियुक्त पर्यटन मन्त्री बद्री पाण्डेलाई समग्र पर्यटन क्षेत्रको सुधारसँगै अलपत्र परेका भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अगुवाइ गर्नुपर्ने दायित्व पनि छ।