२०८१ मंसिर ९ गते, आईतवार १०:५९
  • नेपालको पर्यटन विकासमा एनआरएनए

    सोम सापकोटा

    गैरआवासीय नेपाली संघ (एनआरएनए) राम्रो अवसरको खोजीमा विश्वका विभिन्न मुलुक पुगेका नेपालीहरूको साझा संस्था हो। स्थापनाकालदेखि नै नेपालको पर्यटनको विकास र प्रवद्र्धनका लागि गैरआवासीय नेपालीहरू नै सबैभन्दा उपयुक्त ठहरिएका छन्। गैरआवासीय नेपालीहरू जसले आफू बसेको देशको स्थानीय सरकार, त्यहाँको समुदाय र भाषासँग नजिक रहेर नेपालको प्रचारप्रसार एवं प्रवद्र्धनमा आफ्नो समय खर्चिरहेका छन्। संघले स्थापनाकालदेखि नै कार्यदल बनाएर होस् या समिति, नेपालको पर्यटन प्रवद्र्धनको काम गर्दै आएको छ। यस्तै नेपाल पर्यटन बोर्डसँग समन्वय गर्दै एनआरएनएको राष्ट्रिय समितिमार्फत विभिन्न देशमा प्रवद्र्धनात्मक क्रियाकलाप पनि गरेका छन्। त्यसैगरी पर्यटनसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सरकारी एवं गैरसरकारी संघ÷संस्था, ट्राभल एण्ड टुर्स एजेन्सी, शिक्षासँग सम्बन्धित संस्था, कलेज, विश्वविद्यालयमा प्रवद्र्धनका स्रोत, साधन पु¥याएर प्रचारप्रसारका गतिविधिलाई व्यापक बनाउने काम एनआरएनले गरिरहेको छ। विभिन्न देशका पुस्तकालयमा पठनीय स्रोत, साधन पु¥याएर नेपालको पर्यटनसम्बन्धी विषयवस्तुबारे अध्ययन गर्ने वातावरण निर्माणमा पनि संघले उल्लेख्य योगदान गरेको छ।

    एनआरएनएको उपस्थिति र पर्यटन प्रवद्र्धन
    अहिलेसम्म ९० देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् रहेका छन्। त्यहाँ निश्चित कार्ययोजनासहित वार्षिक रुपमा एनआरएनएका गतिविधि भइरहेका छन्। यसमा पर्यटकीय क्रियाकलापअन्तर्गत नेपाली पहिरन र नेपाली पञ्चेबाजासहित नेपालसँग सम्बन्धित नेपाली मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम गर्नुका साथै प्रसिद्ध हिमाल आरोहीहरूलाई सम्मान गर्ने कार्य हुन्छ। यस्ता मेलामा ती देशका विभिन्न तहका सरकार प्रमुख एवं स्थानीयलाई प्रत्यक्षरुपमा सहभागी गराएर नेपालको पर्यटनलाई थप उचाइमा पु¥याउन एनआरएनएले काम गरिरहेको छ। विश्वमै हुने पर्यटनसम्बन्धी कुम्भ मेलाहरू वल्र्ड ट्राभल मार्ट (डब्लूटीएम), आईटीबी बर्लिनजस्ता कार्यक्रममा सहभागिता जनाएर एनआरएनएको तर्फबाट सहजीकरण गर्ने, कूटनीतिक नियोगसँग नजिकै रहेर संघ/संस्थाका कार्यक्रम चलाइएका छन्। त्यस्ता मेला, महोत्सवमा सगरमाथालगायत अरु हिमालको आरोहण गर्ने आरोहीको अनुभव आदानप्रदान गर्न लगाउने, विभिन्न छलफलमा उनीहरूलाई सहभागी गराएर नेपालका उच्च हिमशिखरका महत्व दर्शाउने, प्रख्यात आरोहीका अनुभव स्थानीय संचारमाध्यममा यथार्थ हिसाबले राख्न लगाई विश्वास जगाउने पाटोमा संघ र संघअन्तर्गतका समितिले काम गर्छन्।

    धेरै देशमा माउन्ट एभरेष्ट डेलगायत विभिन्न अभियान एनआरएनएले सञ्चालन गर्ने गर्दछ। यसरी हेर्दा नेपालको सुन्दरताबारे सन्देश विश्वमाझ पु¥याउन गैरआवासीय नेपालीहरूको अतुलनीय योगदान रहेको छ। नेपाल भ्रमण वर्ष २०११ म हामीले सरकारसँग नजिक रहेर काम ग¥यौं। भिजिट नेपाल युरोप–२०१७ भन्ने अभियान मेरै नेतृत्वमा भएको थियो। मैले सन् २००७ सातबाट नै संघको पर्यटन समितिको उपसंयोजक भएर कार्य गरेँ भने सन् २०१३ मा युरोपको संयोजक भएँ। सन् २०१५–२०१७ मा पनि संयोजक थिएँ भने पछिल्लो पटक पनि संयोजक भएरै कार्य गरिरहेको छु। पर्यटन बोर्डको तीन पटकसम्म मानार्थ जनप्रतिनिधि भएर काम गरिसकेको छु। यसमार्फत विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर नेपालका पर्यटकीय गतिविधिलाई सम्बन्धित ठाउँमा पु¥याउने, बिटुबी गराउने काम हुँदै आएको छ। एनआरएनएको पहलमा हरेकजसो देशमा पर्यटनसम्बन्धी विभिन्न सभा, सम्मेलन, सेमिनार, गोष्ठी गराएर नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनए लागिपरेको छ।
    भूकम्पपछि देश थिलथिलोमा पर्दा पनि भूकम्पले केही सीमित क्षेत्रमा मात्रै प्रभाव पारेको र भ्रमणका लागि खास असर छैन भन्ने अभियान एनआरएनएले चलायो। सन् २०१७ लाई विशेषत पर्यटन प्रवद्र्धन वर्षको रुपमा लिएर धेरै देशमा गैरआवासीय नेपालीहरूमार्फत ‘नमस्ते नेपाल’ क्याम्पेन, ‘भिजिट नेपाल युरोप–२०१७’ क्याम्पेन आयोजना गरेर खस्किँदो नेपालको पर्यटनलाई माथि लैजान संघका माध्यमबाट कार्यक्रम अगाडि बढेका थिए। यस अर्थमा पनि एनआरएनएले कुनै न कुनै माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा काम गरिरहेको छ।

    नेपालको पर्यटन संसारमै अलौकिक
    नेपालका यस्ता सम्पदाहरू छन् जुन संसारमा अन्त कहीँ छैन। संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा देख्न, यसबारे जान्न नेपाल नै आउनुपर्दछ। एकसिंगे गैंडा हेर्न पनि संसारबाट मानिसहरू नेपाल आउँछन्। संसारका एक तिहाइभन्दा बढी जनसंख्याले अनुशरण गरेको बुद्धधर्म प्रतिपादन गर्ने गौत्तमबुद्ध जसले विश्वमै शान्ति छर्ने काम गर्नुभयो। बुद्ध जन्मस्थान नेपाल हो। यसबारे अध्ययन, अवलोकन गर्न नेपाल नै आउनुपर्दछ। विश्वकै शक्तिशाली वीर गोरखाको देश भनेर पनि नेपाललाई संसारले चिनेको छ।
    हामीसँग यस्ता धेरै ब्राण्ड छन्, जुन संसारमा अन्त कहीँ छैन। पर्यटनमा सबै हिसाबले सम्पन्न नेपालको महत्वपूर्ण विधा पर्यटनले भने देशको कुल गार्हस्थ उत्पादनमा सातदेखि ८ प्रतिशत योगदान गर्दछ भन्ने देखाएको छ। समग्रमा १७ देखि २० प्रतिशतसम्म योगदान पर्यटनको तर्फबाट हुनसक्ने हाम्रो अनुमान छ। तथ्यांकअनुसार १० लाख पर्यटकले प्रत्येक वर्ष नेपाल भ्रमण गर्न थालेका छन्। सरकारले अब एक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसो भनिरहँदा हामी संसारको एक तिहाइ जनसंख्या भएका दुईवटा ठूला छिमेकी देश चीन र भारतको बीचमा बढी ध्यान दिनुपर्ने देखिन्छ।

    समस्याको चाङ र पर्यटकको प्रतिक्रिया
    हामी पर्यटनमा संसारमै उत्कृष्ट र अब्बल छौं भनिरहँदा बीचमा कहीँ न कहीँ समस्या छ। नेपालमा राजनीतिक स्थिरता नै भएन। लामो समयसम्मको जनयुद्ध, विभिन्न चरणका आन्दोलन, भूकम्प, कोभिड, सरकारको अस्थिरतादेखि कनेक्टिभिटीको समस्या छ। विश्वका विभिन्न देशबाट नेपाल आउन कनेक्टिभिटी महँगो र लामो छ। जबसम्म नेपालको आफ्नै ध्वजाबहाक पर्याप्त हुँदैनन् तबसम्म समस्या जहाँको त्यहीँ रहन्छ। त्यसैले यसमा ध्यान दिनु अत्यन्तै महत्वपूर्ण छ। आईकाओले हाम्रा जहाजहरू युरोप जान प्रतिबन्ध गरेको छ। यी र यस्ता विषयमा भएका अवरोधलाई सरकारले कूटनीतिक पहलबाट हटाउन सके अपेक्षित पर्यटक भित्र्याउन सकिनेछ। नेपाल घुमेर फर्केका पर्यटकले विशेषत सुरक्षाका विषय उठाउने गरेका छन्। विदेशीले बढीमा १५ दिनको सीमित समय लिएर घुम्न आउने गर्छन्।

    त्यो सीमित समयमा पोखरा, भैरहवा, लुम्बिनी, काठमाडौंलगायत विभिन्न स्थान घुम्ने उनीहरूको तालिका भए पनि सडक बाटोमा धेरै समय बस्नुपर्ने र अवरोध भइदिँदा छुट्याएको समयमा निर्धारित गन्तव्यसम्म पुग्न नसक्ने गुनासो उनीहरूको हुन्छ। बन्द, हडताल, अनिश्चितता र अस्थिर सरकारका कारण नेपालमा समस्या हुने रहेछ भनेर पर्यटकको प्रतिक्रिया रहने गरेको छ।
    जहाज भाडा महँगो रहेको उनीहरू बताउँछन्। नेपालबाटै सीधा उडानमार्फत आउजाउ गर्नसक्ने व्यवस्था होस् भन्ने उनीहरूको चाहना छ। त्यसका लागि राष्ट्रिय ध्वजाबाहक जहाजलाई नै बढाउनुपर्दछ। पेरिसमा मानव निर्मित आइफल टावर हेर्न करोडौं मानिस पुग्ने गर्दछन्। हामीकहाँ प्रकृतिले दिएको संसारकै ठोस अग्लो गन्तव्य सगरमाथा छ, जुन संसारमै अन्त कहीँ छैन। यस्तो प्रोडक्ट हुँदाहुँदै पनि हामीले अपेक्षा गरेअनुसार विदेशी पर्यटक नेपाल ल्याउन सकिरहेका छैनौं। यता भिसाका विषयमा हुने गरेका अन्योलता हटाउनुपर्दछ। विशेषतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारमा पनि ध्यान दिएर चुस्त सेवा दिनुपर्दछ।
    हामीसँग भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर काठमाडौंमा भएको अस्तव्यस्त अवस्था र भीडभाडलाई नियन्त्रण गर्न सकिन्छ।

    अब पर्यटक बढाउन सरकारले हर तरहबाट पहल गर्नुपर्दछ। मुख्य कुरा हामीले पर्यटकलाई सबैभन्दा पहिले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्दछ। जनयुद्ध, भूकम्प, कोभिडपछि सुधारिएको नेपालबारे प्रचार– प्रसार अझै बढाएर जानुपर्छ। नयाँ तरिकाबाट नेपाल सरकारले नीतिमा परिवर्तन गर्नुपर्छ । होटलहरूलाई सहयोग गर्नुपर्दछ । निजी विमानहरूलाई सहयोग गर्नुपर्दछ। जहाज भाडा कम गर्नुपर्दछ। कनेक्टिभिटिलाई सीधैं जोडेर अरु देशसँग समन्वय गर्नुपर्दछ। अहिले अत्यन्तै महँगा पर्यटक अफ्रिकाबाट आउने सम्भावना छ। अफ्रिका, अष्ट्रेलियालाई सीधैं जोड्न सकिने कुरामा सरकार गम्भीर हुन जरुरी छ। युरोपबाट बढीभन्दा बढी पर्यटकले साहसिक पर्यटनका लागि नेपाल भ्रमण गर्ने गर्दछन् । त्यहाँका पर्यटक आउनुप¥यो भने कतार, मिडिल इष्ट नपुगी विकल्प छैन। सरकारले नीतिमा परिवर्तन गरेर कनेक्टिभिटी, पोलिसी, प्रवद्र्धन, नेपालमा दिने सुविधाहरू, नेपालको हस्पिटालिटी क्षेत्रमा पनि कडाइका साथ नियमन गरेर सुधार गर्दै लगेमा पर्यटकको ओइरो लाग्ने सम्भावना छ। हामीले सोह्र लाख पर्यटक भन्दै कुरेर बस्नै पर्दैन। हामी त्यसको दशौं गुणा बढी भित्र्याउन सक्दछौं। पूर्वाधारमा निजी क्षेत्रले गरेको ठूलो लगानीलाई मध्यनजर गर्दै सरकारले ती कुराहरूमा सहजीकरण गरिदिएर सबै क्षेत्रमा सन्तुलन कायम गरी अगाडि लैजान सक्यो भने नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ र यसैको माध्यमबाट देशको विकास सम्भव छ।

    पोखरा, भैरहवा विमानस्थल पीपीपी मोडलमा
    एनआरएनएका केही पूर्व अध्यक्षदेखि विभिन्न व्यक्तिहरूले नेपालको पर्यटनका धेरै क्षेत्रमा लगानी बढाएका छन्। अब एनआरएनसँगको सहकार्यमा पोखरा र भैरहवा विमानस्थल पीपीपी मोडलमा सञ्चालन गर्न सकिने सम्भावना पनि उत्तिकै छ। यसका लागि विविध किसिमका सम्भाव्यता अध्ययन गर्दै संघ र गैरआवासीय नेपाली तथा सरकारबीच
    समन्वय कायम गरेर नेपालको उड्डयन र पर्यटन क्षेत्रलाई अगाडि बढाउन तत्पर रहनुपर्दछ।

    नेपालको निजी क्षेत्र र एनआरएनए

    एनआरएनए नेपालको निजी क्षेत्रसँग अत्यन्तै नजिक रहेको छ। विशेषतः गैरआवासीय नेपालीहरूको स्टार होटलहरूसहित बैंक, शिक्षा, हाइड्रोलगायतको अधिकांश लगानी नेपालका निजी क्षेत्रसँगको सहकार्यमै भइरहेको छ। पछिल्लो समय नागरिकताका विषयसहित धेरै क्षेत्रमा भएको सहजीकरणसँगै अब आफ्नो पुँजी, सीप र अनुभवलाई सँगसँगै ल्याएर समृद्ध नेपाल निर्माण गर्ने काममा गैरआवासीय नेपालीहरू सँगै हुनेछन्। नेपालको निजी क्षेत्रसँगै मिलेर हामी अगाडि बढ्नेछौं।

    ‘आफ्नो साथीलाई नेपाल पठाऔँं’
    विशेषत श्रम गर्न गएका श्रमिक र पढ्न गएका विद्यार्थीको सरकारी तथ्यांक हेर्दा ७० लाखभन्दा बढी नेपाली विश्वका विभिन्न मुलुकमा छरिएर रहेका छन्। ३० लाखभन्दा बढी मध्यपूर्वका सात देशमा, ७ लाखभन्दा बढी युरोपमा, सात लाखको हाराहारीमा अमेरिका आसपासका क्षेत्रमा, करिब सात लाखको हाराहारीमा अष्ट्रेलियामा बसोबास गर्ने तथ्यांकले देखाउँछ । यसरी हेर्दा ७० लाखभन्दा बढी नेपाली एक जनाले एक जना पर्यटक नेपाल पठाउने हो भने त्यो पर्याप्त हुनेछ। एनआरएनएले ‘आफ्ना साथीलाई नेपाल पठाऔँं’ भन्ने अभियानमार्फत विदेशी नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने गरेको छ। त्यसलाई बढावा दिनुपर्ने देखिन्छ। सरकारले पनि गैरआवासीय नेपालीहरूबाट पर्यटनको प्रचार प्रसार भरपर्दाे, कम खर्चमा हुनसक्ने भएकाले यसको प्रयोगमा जोड दिनुपर्दछ। छिमेकमा ‘फिजिकल्ली’ र अरु देशमा ‘डिजिटल्ली’ प्रमोशन अब डिजिटल मिडिया क्याम्पेनतर्फ प्रचारप्रसारमा बढी जोड दिन नेपाल पर्यटन बोर्ड र सरकारलाई एनआरएनएको सुझाव रहेको छ । बोर्डले मल्टिमिडियाको माध्यमबाट छोटा छोटा भिडियो क्लिपहरू बनाउने र नेपालका गन्तव्य प्रवद्र्धनका विभिन्न डकुमेन्ट तयार पारेर आक्रामक हिसाबले डिजिटल्ली प्रवद्र्धनमा जोड दिनुपर्दछ।

    अर्काेतर्फ बीबीसी, सीएनएन जस्ता ठूला मिडियामा नेपाल प्रमोशन क्याम्पेन गर्न सके नेपालको पर्यटनलाई ह्वात्तै माथि उठाउन सकिनेछ। जसरी पनि उच्चस्तरीय पर्यटकलाई नेपाल भित्र्याउन जोड दिनुपर्ने देखिन्छ। यसै सिलसिलामा मध्यपूर्वका महँगा पर्यटकलाई नेपाल आकर्षित गराउन उनीहरूको रुचि, चाहना, आवश्यकताका विषयमा अध्ययन गरेर सोहीअनुरुपका कार्यक्रम अगाडि बढाउनुपर्दछ। त्योबाहेक छिमेकी देश चीन र भारतमा विश्वको एक तिहाइ जनसंख्या रहेकाले त्यहाँका मानिसहरूको रुचि र आवश्यकता अनुसार प्रवद्र्धन र संरचना विस्तारमा जोड दिनुपर्ने देखिन्छ। चीन र भारतमा फिजिकल्ली र यीबाहेकका देशहरूमा डिजिटल्ली प्रमोशनमा लाग्न सकियो भने हामीले अपेक्षा गरेअनुसार पर्यटक संख्या वृद्धिसँगै फाइदा लिन सकिनेछ। सरकारले नीतिगत तह र लगानीको क्षेत्रमा सहजीकरण गरिदिने र निजी क्षेत्रका निकायले आफ्नो जिम्मेवारी अनुरुप कार्य पूरा गर्न सकेमा पर्यटनको माध्यमबाट नै नेपाललाई समृद्ध गराउन सकिनेछ र छोटो समय एवं थोरै लगानीमा समृद्ध नेपाल बनाउने परिकल्पना हाम्रै पालामा सम्भव छ।

    (साभार : अर्थतन्त्र, पर्यटन परिदृष्य विशेषाङ्क)