२०८१ आश्विन २१ गते, सोमबार ०७:०५
  • चितवन निकुञ्जमा पर्यटक आगमन हालसम्मकै बढि

    कोभिडपछि ह्वात्तै बढेका आन्तरिक पर्यटक पछिल्लो समय घट्दै

    चितवन-गत आर्थिक वर्षमा तीन लाख ६ हजार ८३७ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। एक वर्षमा चितवन निकुञ्ज भ्रमण गर्ने यो संख्या हालसम्मकै धेरै हो। अघिल्लो आर्थिक वर्षमा दुई लाख ९९ हजार ४१२ पर्यवटक आएका थिए।

    भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि पर्यटक बढेका हुन्। गत वर्ष निकुञ्ज घुम्न आएका मध्ये आन्तरिक पर्यटकको संख्या एक लाख ७६ हजार ३१६ भित्रिएका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आन्तरिक पर्यटक घटेका हुन्। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालीको सङ्ख्या दुई लाख पाँच हजार छ सय पाँच रहेको थियो।

    त्यस्तै सार्क मुलुकका पर्यटक हाराहारी छन् भने अन्य तेस्रो मुलुकका पर्यटक निकै बढेका छन्। गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा सार्क मुलुकका ३६ हजार ४७१ पर्यटक आएका थिए। अघिल्लो आर्थिक वर्षमा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए। गत आर्थिक बर्षमा अन्य मुलुकका विदेशी पर्यटक ९४ हजार ५० रहेका छन्। अघिल्लो आर्थिक वर्षमा ५५ हजार ८७२ भित्रिएका थिए।