२०८१ आश्विन २१ गते, सोमबार ०९:१४
  • डेढ महिनायता किन भएको छैन मलेशिया- भैरहवा उडान ?

    भैरहवा -झण्डै डेढ महिना यता मलेसियाको क्वालालाम्पुरबाट भैरहवा उडान भएको छैन। नेपाल बायुसेवा निगमको जहाजले प्रत्येक मंगलबार विहान क्वालाम्पुर भैरहवा काठमाडौँ उडान गर्ने तालिका छ। पछिल्लो पटक मे २८ अर्थात जेठ १५ गते निगमको जहाज भैरहवा आएको थियो। त्यस यता उडान नभएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। ‘जुन महिना लागेपछि क्वालालाम्पुरबाट भैरहवा उडान भएको छैन। आज मंगलबार पनि क्यान्सील भयो।’ उनले भने।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नाममा सातामा एउटा क्वालाम्पुर-भैरहवा एकतर्फी उडान मात्र छ। तर यो उडान पनि समय समयमा स्थगित हुने गरेको छ। पछिल्लो सात वटा मंगलबार निगमको जहाज भैरहवा आएको छैन। नेपाल बायुसेवा निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले यात्रु नभएकाले उडान रोकिएको बताए। ‘उडान सेड्युल त नियमित नै छ। प्यासेन्जर नभएको कारणले मलेशियाबाट भैरहवा नगइ जहाज सिधै काठमाडौँ आउने गरेको छ।’ उनले भने ‘भैरहवा झर्ने प्यासेन्जर नभएकाले त्यता जहाज लैजानुको अर्थ भएन नि त्यही भएर उडान नभएको हो।’ अहिले अफ सिजन भएकाले यात्रु नभएको र सिजन सुरु भएपछि पुन जहाज भैरहवा जाने पुनको भनाइ छ।

    २०७९ जेठ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि रुपन्देहीका व्यवसायीहरु खुशी भएका थिए। तर साढे २ वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरु निराश छन्। उद्घाटनसँगै केही महिना जजिरा एयरवेजले कुवेत भैरहवा उडान गरेको थियो। विचमा ३ महिला हिमालयन एयरलाइन्सले पनि भैरहवा मलेसिया उडान गरेको थियो। तर दुबै जहाजले उडानलाई निरन्तरता दिएनन्।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीहरुले दबाब मुलक कार्यक्रम गर्दै आइरहेका छन्। उनीहरु काठमाडौँसम्म पुगेर ज्ञापनपत्र बुझाएका थिए। तर अझै पनि अन्तर्राष्ट्रिय कहिले हुन्छ भन्ने निश्चित छैन।