२०८१ आश्विन २१ गते, सोमबार ०९:११
  • असोज ४ बाटै होला त भैरहवा-बैंकक सातामा ४ उडान ?

    काठमाडौँ -नेपाल नागरिक उड्यन प्राधिकरणले एयर एसिया अन्तर्गतको थाइएयर एसियालाई उडानको अनुमति दिएको छ। सातामा सात उडान काठमाडौँबाट गर्ने गरि थाइ एयर एसियाले प्राधिकरणमा निवेदन दिएको थियो। तर प्राधिकरणले भैरहवाबाट ४ र काठमाडौँमा ३ उडान गर्ने गरि स्विकृत प्रदान गरेको हो।

    थाइ एयर एसियाले २०२४ सेप्टेम्बर २० अर्थात आगामी असोज ४ गतेबाट उडान गर्ने गरि निवेदन दिएको थियो। नोभेम्बर ८ अर्थात कात्र्तिक २३ गतेबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १४ घण्टा मात्र सञ्चालन हुने छ। मर्मतको लागि दिनको १० घण्टा विमानस्थलमा बन्द हुने हुँदा काठमाडौँको चाप घटाउन भैरहवाबाट पनि उडान गर्नेगरि थाइ एयर एसियालाई स्विकृत प्रदान गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुद्ध परिपथलाई बताए। ‘हामीकहाँ २० सेप्टेम्बर २०२४ बाट उडान गर्ने गरि थाइ एयर एसियाले एप्लाइ गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनमा १० घण्टा बन्द भएर १४ घण्टा मात्र खुल्ने भएकाले विमानस्थलको क्पासिटी घट्छ।’ उनले भने ‘त्यसैले उसले मागेको उडान मध्ये ४ वटा भैरहवाबाट र ३ वटा काठमाडौँबाट गर्ने गरि हाललाई स्विकृत भएको छ।’

    प्राधिकरणमा दिएको निवेदन अनुसार थाइ एयर एसियाले उडान थाल्यो भने थाइल्याण्डको बैंककबाट हप्तामा ४ वटा जहाज भैरहवा आउने छन्।