२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • पर्यटन सम्बन्धी शैक्षिक कार्यक्रम ‘बीटीटीएम’, समायानुकुल व्यवहारीक शिक्षा र रोजगारीको सम्भावना

    बुटवल-लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातक तहमा पर्यटनसँग सम्बन्धीत विषयको शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ। १२ कक्षा पास भएकाहरुले विश्वविद्यालय अन्तर्गतको सीटी क्याम्पस बुटवलमा यो विषय अध्ययन गर्न पाउने छन्।

    पर्यटन क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्ने उदेश्यका साथ विश्वविद्यालयले व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट बीटीटीएम कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेले बताए। ‘काठमाडौँ भन्दा बाहिर पर्यटन सम्बन्धी उच्च स्तरको पठनपाठन हुने शिक्षण संस्था उल्लेख्य रुपमा नभएकाले लुम्बिनी बौद्ध विश्वविद्यालयले सन् २०१७बाट बुटवल र लुम्बिनीमा बीटीएम कार्यक्रम सञ्चालनमा ल्याएको हो।’ उनले भने ‘हाल यो कार्यक्रममा विद्यार्थीहरुको आकर्षत प्रत्येक वर्ष बढ्दै गएको छ।’

    आठ सेमेष्टरको बीटीएम शैक्षिक कार्यक्रममा विद्यार्थीहरुले पर्यटनसँग सम्बन्धीत नीतिनियम, पर्यटकीय अर्थतन्त्र, अनुसन्धान, आथित्य सत्कार, प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्वीक, उड्यन लगायतका क्षेत्रहरुबारे जानकारी हाशिल गर्न सक्ने विश्वविद्यालयका पर्यटन शिक्षा समिति प्रमुख डा. श्रीप्रसाद भट्टराइले बताए। ‘४ बर्षे कोर्षमा विद्यार्थीहरुले ट्राभल, टुरिजम, हस्पिटालिटी सम्बन्धीत कुराहरुलाई आधार बनाएर अध्ययन गर्ने गर्छन।’ उनले भने ‘नेपालमा जतिपनि पर्यटकीय स्थलहरु छन्। उनीहरुलाई स्टोरी लेखन गराउने। आवश्यक भिडियो सामाग्रीहरु बनाउने गर्छन्।’

    पर्यटनसँग सम्बन्धीत बीटीटीएम कार्यक्रम व्यवहारिक शिक्षा अन्तर्गत पर्दछ। त्यसैले यो विषयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई पयाप्त मात्रामा प्रयोगात्मक ज्ञान प्रदान गर्नुका साथै फिल्ड भिजिट समेत गराइने पर्यटन विषयका उपप्राध्यापक अरुण सिंहको भनाइ छ। ‘फिल्ड भिजिटलाई क्रेडिट आवर्समा पनि गणना गरिन्छ। फिल्ड भिजिट अन्तर्गत विद्यार्थीहरुलाई हामीले ट्रेकिङ रुट, एडभेन्चरका पूर्वाधार भएको ठाउँमा लिएर गइन्छ। ‘उनले भने ‘उनीहरुले फिल्डमा गएपछि एउटा रिपोर्ट तयार गरेर आउनै पर्छ।’

    पर्यटनसँग सम्बन्धीत बीटीटीएम आँफैमा रोजगार मुखी शैक्षिक कार्यक्रम हो। बुद्ध जन्मस्थल भएको रुपन्देही आँफैमा पर्यटकीय स्थल मानिन्छ। यहाँ ५ तारेसम्मका होटल रहेका छन्। पर्यटनको सेवाको लागि थुप्रै टुर एण्ड ट्राभल व्यवसाय पनि छन्। बीटीटीएमका विद्यार्थीलाई यी क्षेत्रमा रोजगारको पर्याप्त सम्भावना छ। साथै सरकारी सेवा तथा गैर सरकारी संस्थामा पनि यो विषय पढेका विद्यार्थीको लागि सहज रोजगारीको अवसर प्राप्त हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा.हरिसरण चखुनले बताए। ‘यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुले पर्यटनसँग सम्बन्धीत विभिन्न क्षेत्रमा काम गरिरहेका छन्। हामीले पनि होटल एशोसिएन नेपाल र टुर्स एण्ड ट्राभलका संस्थासँग समन्वय गरिरहेका छौं।’ उनले भने ‘हामीले पर्यटन बोर्ड र प्रदेश सरकारको पर्यटन परिषदसँग पनि सहकार्य गरेर अघि बढेका छौं।’

    लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध दर्शनको केन्द्र समेत हो। बुद्ध दर्शन र लुम्बिनीको प्रचार प्रसार तथा प्रवद्र्धनमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। पर्यटनका माध्यमबाट लुम्बिनीसँगै समग्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जनाको लागि बीटीटीएम विषयको पठन पाठन सञ्चालन गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलक आचार्यको भनाइ छ। ‘बुद्धिजम र टुरिजम एक अर्कासँग सम्बन्धीत छन्। नेपाल बुद्ध धर्म दर्शनको केन्द्र हो।’ उनले भने ‘लुम्बिनीसँगै कपिलबस्तु, रामग्राम, देवदह जस्ता सम्पदाहरुको अन्य थुप्रै जगेर्ना गर्नको लागि पर्यटनसँग सम्बन्धीत शैक्षिक कार्यक्रम सञ्चालन गरेका हौं।’

    यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा पनि जोड्न चाहेको आचार्यले बताए। ‘विद्यार्थीहरुलाई ३ वर्ष नेपालमा र एक वर्ष चिन पढाउने कार्यक्रम बनाएका छौं। त्यसबाहेक अन्य बौद्ध देशहरुमा पनि विद्यार्थीहरुलाई जोड्ने योजना रहेको छ।’ उनले भने।

    ४ वर्षे पाठ्यक्रमको शिलसिलामा विद्यार्थीहरुले एक वर्ष चिनमा समेत अध्यनको मौका पाउने छन्। अहिले बीटीटीएम छैटौ सेमेष्टरका विद्यार्थीहरुले चिन जाने तयारी गरिरहेका छन्। ‘चिन जानु अगाडि एचएसके थ्री दिन्छौं। एचएसके थ्री दिएकालाई चिन सरकारले पनि राम्रो अवसर दिने गरेको छ।’ विद्यार्थी प्रशान्त भट्टराईले ‘भने नेपालमा आएपछि पनि चाइनिज प्रोजेक्टहरुमा काम गर्ने अवसर हुन्छ।’ चिन जाने तयारीमा रहेका अर्का विद्यार्थी प्रशान्त गौतमले विभिन्न अवसरहरु देखेर आफूले बीटीटीएम पढेको बताए। ‘बीटीटीएममा धेरै अवसरहरु हुन्छ। एयर टिकेटिङ, एयरपोर्ट, टुर गाइडदेखि लिएर, आफैले पर्यटन सम्बन्धी उद्यम गर्न सकिन्छ। त्यसैले मैले पनि यो विषय लिएको हो।’ उनले भने।

    पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको प्रमुख माध्यम हो। नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्वीक स्थलहरु पर्यटकीय गन्तव्यको रुपमा रहेका छन्। बुद्ध जन्मस्थल लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तव्य हो। लुम्बिनी बाहेक अन्य थुपै पर्यटकीय स्थल लुम्बिनी प्रदेशमा रहेका छन्।

    स्थलमार्ग हुँदै नेपाल भित्रने पर्यटक मध्ये ८० प्रतिसत रुपन्देहीकै बेलहिया नाका भएर प्रवेश गर्दछन्। भैरहवामा मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ। यो विमानस्थलले भविश्यमा ठूलो संख्यामा नेपालमा पर्यटक भित्राउने आशा गरिएको छ। बुद्धजन्मस्थल लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण रुपन्देही पर्यटनकीय केन्द्रको रुपमा विकास हुँदै छ। त्यसैले पर्यटनसँग सम्बन्धीत शैक्षिक कार्यक्रम व्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट बीटीटीएम समय अनुकुल रहेको विश्वास गरिएको छ।