२०८१ आश्विन २१ गते, सोमबार ०७:०८
  • सरकारको निर्णयपछि खाडी मुलुकका विमान कम्पनीद्वारा भैरहवाको उडानप्रति चासो

    एयर अरेबीया र फ्लाइ दुबइले पनि थाले तयारी

    बुटवल -सरकारले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको कार्ययोजना ल्याएपछि मध्यपूर्वी तथा खाडी मुलुकका विमान कम्पनीहरुले चासो देखाएका छन्। भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन सरकारले मन्त्रीपरिषदको बैठकबाट हालै कार्ययोजना स्वीकृत गरिएको थियो। जस अनुसार भैरहवा र पोखराबाट उडान गर्ने विमानहरुलाई २ वर्षसम्म इन्धन र टिकट करमा सहुलियत दिने निर्णय भएको छ।

    त्यस्तै रुपन्देहीमा बैदेशिक रोजगारका सेवा विस्तार समेत विस्तार हुने भएको छ। सरकारी निर्णयपछि मध्यपूर्वी मुलुकका विमान कम्पनीहरुले सक्रियता देखाएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए। पछिल्लो निर्णयपछि खाडी मुलुक लक्षित विमान कम्पनीहरु भैरहवा आउन सक्रिय देखिएका छन्। ‘अहिले सकारात्मक वातावरण बनिरहेको छ।’ उनले भने ‘एयर अरेबीया र फ्लाइ दुबइ लगायतका कम्पनीले भैरहवा आइ फिल्ड भिजिट गर्ने, अध्ययन गर्ने काम सुरु गरिसकेका छन्।’

    जजिराले फेरि भैरहवाबाट उडान गर्न खोजिरहेको छ। यस अघि केही महिना भैरहवा कुवेत उडान गरेको जजिरा एक वर्ष भन्दा बढि समयदेखी उडान स्थगित गरेको छ। जजिरा र विज एयरले टिकट र इन्धनमा सहुलियत दिएमा उडान गर्ने बताउँदै आएका थिए। सरकारले छुट सुविधाको निर्णय गरेपछि दुबै एयरलाइन्सका प्रतिनिधि भैरहवा आइ उडानको तयारीका लागि फिल्ड भिजिट गरेको गौतम बुद्ध विमानस्थलका प्रवक्ता दिपक बज्राचार्यले बताए। यस्तै एयरथाइ एशियाले भैरहवाबाट हप्तामा ४ वटा उडान गर्ने गरि नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिइसकेको छ। जजिराले र थाइ एयर एसियाले सेप्टेम्बरमा उडान गर्ने सम्भावना छ। ढिलोमा नोभेम्बरसम्म उडान थाल्ने छन्।

    नोभेम्बरदेखी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको ट्याक्सी वे विस्तार तथा मर्मतको लागि राती १० बजेदेखी विहान ८ बजेसम्म उडान बन्द गरिने भएको हो। रातीको उडान बन्दले भैरहवामा अन्तर्राष्ट्रिय उडानको वातावरण सिर्जना गरेको छ। त्यसैले पनि विन्टर सेड्युलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढ्ने आशा गरिएको प्राधिकरणका प्रवक्ता पाण्डेको भनाइ छ। ‘काठमाडौँको विमानस्थल बन्द हुँदा त्यसबेला चल्ने जहाज कि टिकट काट्न बन्द गर्नुपर्यो या भैरहवा आउनुपर्यो।’ उनले भने ‘उहाँहरु दबाबमा पर्नुहुन्छ। त्यसैले पनि भैरहवाको एयरपोर्ट चलायमान हुन्छ।’

    उद्घाटन भएको साढे २ वर्ष हुन लाग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर उडान हुन सकेको छैन। सातामा एकपटक मलेसिया भैरहवा काठमाडौको एकतर्फी उडान बाहेक अरु अन्तर्राष्ट्रिय उडान छैन। रुपन्देहीका व्यवसायीहरुले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न पटक पटक दबाब दिँदै आएका छन्।