२०८१ आश्विन २१ गते, सोमबार ०७:११
  • राष्ट्रपति पौडेलले पाल्पाको ऐतिहासिक भगवती जात्राको अवलोकन

    तानसेन -राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजेरेश्वरी भगवती जात्राको अवलोकन गरेका छन्। पाल्पाको तान्सेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलीपल्ट भगवती जात्रा निकालिन्छ। ऐतिहासिक रणउजेरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पुगेका हुन्।

    राष्ट्रपति पौडेललाई पाल्पामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए। जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा आएका थिए। जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरेका थिए। त्यसपछि राष्ट्रपति पौडेल द फेमस महिन्द्र दल गणको निरिक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गरेका थिए।

    भगवती जात्राको अवसरमा राष्ट्रपति पौडेलले सबै नेपालीको सुख,शान्ति र कल्याणका लागि शुभकामना दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्। नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले बुटवलको जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ।