२०८१ आश्विन २१ गते, सोमबार ०७:१२
  • टानको अध्यक्षमा सागर पाण्डे विजयी

    काठमाडौँ – पदयात्रा ९ट्रेकिङ० व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा सागर पाण्डे विजयी भएका छन्। टानको ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा प्रत्यासी राजेन्द्रप्रसाद सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्।

    विगत तीन दशकदेखि नेपालको पर्वतीय पर्यटन व्यवसायमा आबद्ध उनी हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीको संस्थापकसमेत हुन् । वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टानका निवर्तमान महासचिव विनोद सापकोटाले जानकारी दिए।

    यस्तै, सचिव पदमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्। महिला सदस्यमा पवित्रा तामाङ, सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी ९भोटे०, विकास गुरुङ, सागर राई, छाप्ते लामा र राजु गुरुङ विजयी भए।

    अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पाण्डेले टानमा आबद्ध व्यवसायी र मजदुरका लागि ‘टान बृहद् अक्षयकोष’ निर्माण गर्ने बताए। पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्ने, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण गर्ने, करसम्बन्धी समस्या समाधान गर्ने उनले बताए।