२०८३ असार ७ गते, आईतवार ००:३०
  • मनास्लु घुम्ने पर्यटकसँग चुमनुब्री गाउँपालिकाले पदयात्रा शुल्क लिने

    गोरखा – मनास्लु संरक्षण क्षेत्र घुम्ने पर्यटकसँग गोरखाको चुमनुब्री गाउँपालिकाले पदयात्रा शुल्क लिने भएको छ। आन्तरिक आम्दानी बढाउन भन्दै गाउँपालिकाले पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो। पालिकाको आर्थिक ऐन २०८१ अनुसार विदेशीसँग प्रतिव्यक्ति १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए। भ्रमण टोलीसँग जाने भरियाले भने पदयात्रा शुल्क बुझाउनु पर्दैन।

    मनास्लु क्षेत्रमा जाने पर्यटकसँग राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएका छन्। तर, यो क्षेत्र रहेको चुमनुब्री गाउँपालिकाले पर्यटकले बुझाएको शुल्क प्राप्त गर्दैन। आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले बताए।

    पालिकाको आन्तरिक आम्दानी वार्षिक करिब १५ लाख रुपैयाँमात्र रहेको र प्रकृति संरक्षण कोषले उठाएको शुल्क पनि बाँडफाँट नगर्ने भएकाले सरोकारवाला सबैसँगको छलफलपछि पदयात्रा शुल्क लिने निर्णय गरेको उनले बताए। केही दिनमै जगतमा कार्यालय स्थापना गरी कर्मचारी व्यवस्थापन गरेर पर्यटकसँग पदयात्रा शुल्क लिन थाल्ने लामीछानेले जानकारी दिए। गत आर्थिक वर्ष मनास्लुमा ९ हजार ५ सय ७७ विदेशी पर्यटक पुगेका थिए।