२०८१ आश्विन २१ गते, सोमबार ०७:०२
  • भैरहवाबाट हङकङ र दिल्लीको ट्रान्जिट प्रभावहिन, एक वर्षमा ४० यात्रुले मात्र गरे उडान

    तीन महिनायता भैरहवा आएको छैन निगमको जहाज

    भैरहवा– एक वर्ष अघि २०८० भदौबाट नेपाल बायुसेवा निगमले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र हङकङको लागि ट्रान्जिट उडान सुरु गरेको थियो। प्रत्येक मंगलबार मलेसियाको क्वालालाम्पुरबाट निगमको जहाज भैरहवा आइ काठमाडौ जाने तालिका छ। त्यो जहाजमा भैरहवाबाट काठमाडौँ ट्रान्जिट भएर हङकङ र दिल्ली जाने व्यवस्था गरिएको थियो।

    भदौ १९ गते देवमणी घिमिरे पहिलो पटक भैरहवाबाट काठमाडौँ ट्रान्जिट हुँदै दिल्ली प्रस्थान गरेका थिए। ठीक एक वर्ष अघि २०८० भदौ २६ गते रुपन्देही तिलोत्तमाका विश्व जोशी ट्रान्जिट मार्फत भैरहवाबाट पहिलो पटक हङकङ उडेका थिए। सुरुवातका केही हप्ता दुई चार जनाका दरले ट्रान्जिट सेवाको उपयोग गरेका थिए। ट्रान्जिट सुरु भएयता नेपाल बायुसेवा निगमको जहाजले क्वालालाम्पुर भैरहवा ३० वटा जति उडान गरेको छ। यी उडानमा जम्मा ४० यात्रुले मात्र ट्रान्जिटको उपयोग गरेका छन्। भैरहवाबाट ट्रान्जिट मार्फत अन्तर्राष्ट्रिय उडान गर्ने अधिकांस हङकङका रहेका छन्।

    ट्रान्जिटको व्यवस्थाले भैरहवाबाट दिल्ली र हंङकङ जान चाहाने यात्रुलाई सहज भएको भनिएको थियो। यसबाट आगामी दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रु बढ्ने आशा गरिएको थियो। तर आशा गरेजस्तो निगमको ट्रान्जिट तर्फ यात्रु आकर्षित भएनन्। सुरुवातमा फट्ट फुट्ट मात्रामा ट्रान्जिटको प्रयोग भएपनि पछिल्ला दिनमा यात्रुले उपयोग गर्न छोडेका थिए।
    काठमाडौँमा लामो ट्रान्जिटमा बस्नुपर्ने र भाडा पनि महंगो भएकाले यात्रु आकर्षित नभएको पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमयले बताए। ‘दिल्ली जानुपर्दा काठमाडौं ४ घण्टा ट्रान्जिटमा बस्नुपर्छ। यहाँबाट गोरखपुरसम्म गएर जाँदा भाडा पनि निकै सस्तो पर्छ। यहाँबाट को जान्छ र? ‘ उनले भने ‘एकतर्फी उडान व्यवहारीक पनि हुँदैन। यात्रुले विश्वास पनि गर्दैनन्।’

    नेपाल बायुसेवा निगमका भैरहवा सेल्स अफिस इन्चार्ज दिवस खड्काले सातामा एउटा मात्र उडान भएकाले यात्रु आकर्षित नभएको हुन सक्ने बताए। ‘हप्तामा एउटा मात्र भएकाले पर्खेर बस्नुपर्ने, मौसमका कारण जहाज भैरहवा आउने हो कि नआउने भन्ने लागेर हङकङको ट्रान्जिटमा पनि यात्रु नभएका हुन सक्छन्।’ उनले भने ‘अर्को तर्फ हङकङ उडानको लागि भैरहवा सानो बजार हो।’

    नेपाल बायुसेवा निगमले २०८० जेठ २९ गतेबाट क्वालालाम्पुर भैरहवा काठमाडौ उडान थालेको थियो। यो रुटमा हालसम्म ४२ उडान भएको छ। जसमा कुल १ हजार ७२० यात्रु भैरहवा झरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रवक्ता दिपक बज्रचार्यले बताए। तर पछिल्लो ३ महिनादेखी भने निगमको जहाज क्वालालाम्पुरबाट भैरहवा नआएको उनले जानकारी दिए। निगमका २ वटा जहाज मर्मतको लागि ग्राउण्डेड हुँदा मलेशिया काठमाडौ उडान पनि सुरु भएको छैन।